दोहा (कतार) — नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा मोहम्मद अफताब आलमको निधनको खबरले नेपाली जनसम्पर्क समिति कतार शोकाकुल बनेको जनाएको छ।
समितिले एक विज्ञप्ति जारी गर्दै आलमको निधनले नेपाली कांग्रेसले एक बलियो संगठनकर्ता गुमाएको बताउँदै गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।
आलमले आफ्नो दीर्घ राजनीतिक यात्रामा श्रम राज्यमन्त्री (२०५४), वन राज्यमन्त्री, स्थानीय विकास राज्यमन्त्री, भूमिसुधार मन्त्री र श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी वहन गर्दै उल्लेखनीय कामहरू गरेका थिए। सन् २०१० (वि.सं. २०६७) मा उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
श्रम मन्त्रीका रूपमा कतार भ्रमणका क्रममा उनले नेपाली श्रमिकका समस्या समाधानका लागि जनसम्पर्क समितिसँग भेटघाट गर्दै तलब वृद्धिलगायतका विषयमा पहल गरेका थिए। समितिले स्मरण गरेको छ कि उक्त भेटमा प्रस्तुत गरिएको ज्ञापनपत्रमा उल्लेखित श्रमिकका मागहरूलाई उनले सकारात्मक रूपमा अघि बढाएका थिए।
नेपाली जनसम्पर्क समिति कतारले आलमको योगदानको उच्च सम्मान गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।