दोहा ।कतार राज्य र बहराइन किंगडमबीच पहिलोपटक औपचारिक रूपमा समुद्री यात्रु सेवा सुरु गरिएको छ। नयाँ ५० मिनेटको यो समुद्री यात्रुवाहक सेवा कतारको उत्तरी शहर अल रुवैस बन्दरगाह र बहराइनको मुहार्रक टापुस्थित सादाह मरीनाबीच सञ्चालनमा आएको हो।
सेवाको उद्घाटन अल रुवैस बन्दरगाहमा आयोजित विशेष कार्यक्रममा दुवै मुलुकका मन्त्री र उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा कतारका परिवहन मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुल्ला बिन मोहम्मद अल थानी र बहराइनका परिवहन तथा दूरसञ्चार मन्त्री महामहिम डॉ. शेख अब्दुल्ला बिन अहमद अल खलीफा पनि उपस्थित थिए।
यो परियोजना खाडी क्षेत्रीय सम्पर्क, पर्यटन र व्यापारिक सहकार्य सुदृढ गर्ने उद्देश्यसहित अघि बढाइएको हो। नयाँ सामुद्रीक यात्रु सेवाले यात्रुहरूलाई करिब ५० मिनेटमै बहराइन र कतारबीच यात्रा गर्ने सुविधा प्रदान गर्नेछ। राउन्ड ट्रिपको इकोनोमी टिकटको मूल्य २६५ कतारी रियाल तोकिएको छ।
सेवाले हरेक यात्रामा २८ देखि ३२ जना यात्रु लैजान सक्ने क्षमता राखेको छ, जसले दुई देशबीचको यात्रालाई सहज, द्रुत र सुरक्षित बनाउनेछ। यस सेवा सुरु गर्नुअघि कतार तथा बहराइनका यातायात तथा सञ्चार मन्त्रालयका अधिकारीहरूले अल रुवैस बन्दरगाहको पूर्वाधार अवलोकन गरी सञ्चालन तयारी सुनिश्चित गरेका थिए।
उक्त सेवा कतार–बहराइन समुद्री सम्पर्क परियोजनाको पहिलो चरणको रूपमा रहेको छ, जसले दुई देशबीचको पर्यटन, व्यापार र यातायात प्रणालीमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। साथै, यस रणनीतिक परियोजनाले खाडी सहकार्य परिषद् (GCC) का सदस्य मुलुकहरूबीचको समग्र सहकार्य अझ मजबुत बनाउनेछ र भविष्यमा समुद्री यात्रु यातायात विस्तारका लागि मार्ग प्रशस्त गर्नेछ।