दोहा। प्रवासी नेपाली समुदाय कतारको पहलमा आयोजित करिअर विकास तथा पेशागत अभिवृद्धि सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न गरिएको छ। रोजगारीका अवसर, करिअर उन्नति र पेशागत सीप विकासका सम्भावनाबारे प्रवासी नेपालीहरूलाई सशक्त बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले सहभागीहरूलाई व्यावहारिक र अद्यावधिक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा निर्णय–निर्माण, मानव स्रोत व्यवस्थापन, निजी क्षेत्रको तालिम तथा व्यवसायिक विकासका क्षेत्रमा अनुभव बोकेका प्रशिक्षकहरूले विभिन्न विषयमा गहन प्रस्तुतीकरण दिए। सहभागीहरूलाई रोजगारीमा प्रतिस्पर्धी बन्न आवश्यक तयारीदेखि लिएर कार्यस्थलमा अपनाउनुपर्ने व्यवहारिक शिष्टाचारसम्मका विषयहरूमा विस्तृत मार्गदर्शन गरिएको थियो।
दीर्घ अनुभवसहित कतारमा मानव स्रोत तथा ट्रेनिङ डेभलपमेन्ट क्षेत्रमा संलग्न उमेश मेहेराले करिअर योजना निर्माण, लक्ष्य निर्धारण तथा अवसर पहिचानका प्रभावकारी उपायहरूबारे प्रशिक्षण दिए।
गैरसरकारी यातायात क्षेत्रअन्तर्गत क्वालिटी एसुरेन्स तथा तालिम प्रशिक्षक टिना राईले बायोडाटाको संरचना, कम्पनीहरूले प्राथमिकताका साथ मूल्यांकन गर्ने सीप तथा इन्टर्भ्युमा प्रभाव जमाउने प्रस्तुतीकरण कौशलका विषयमा व्यावहारिक सत्र सञ्चालन गरिन्।
मानव स्रोत विकास र अन्तर्वार्ता प्रक्रियामा अनुभवी प्रशिक्षक कल्याण थापाले भर्ती प्रणाली, छनोटका मापदण्ड तथा प्रतिस्पर्धी वातावरणमा आफूलाई प्रस्तुत गर्ने क्षमताबारे विस्तृत जानकारी दिए।
ग्रुप अफ कम्पनीहरूमा स्रोत–साधन विकास, खरिद–बिक्री तथा व्यवस्थापन प्रणालीमा विशेषज्ञता राख्ने अच्युत भट्टराईले कार्यसम्पादन सुधार, नेतृत्व क्षमता तथा कम्पनी सञ्चालन प्रक्रियाबारे महत्वपूर्ण प्रशिक्षण प्रस्तुत गरे।
व्यवसायिक क्षेत्रका जानकार नरेन्द्र अर्यालले व्यवसाय सञ्चालनका आधारभूत पक्ष, उद्यम विस्तारका उपाय तथा कार्यस्थलमा सफल हुनुपर्ने रणनीतिबारे सहभागीहरूलाई प्रेरणामूलक मार्गदर्शन गरे।
कार्यक्रमको समन्वय सुरज कुँवरले गरेका थिए। समाजका संयोजक अम्बिका पौडेलका अनुसार, यस्ता करिअर–उन्मुख कार्यक्रमहरूले प्रवासी नेपालीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै भविष्यमा अझै धेरै अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
आयोजक संस्था प्रवासी नेपाली समुदाय कतारले यस प्रकारका सीप–विकास तथा व्यावसायिक प्रगतिसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
