२०८३ मङ्सिर ११ गते बिहिवार | 2026 November 26th Thursday

एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिमा सभामुख अर्याल, आठ विषयगत सत्रमाथि बहस हुने

दोहा (कतार), मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय समितिको आयोजनामा कतारको राजधानी दोहामा हुन लागेको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रतिनिधिसभाका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आगामी मंसिर २५ र २६ गते (डिसेम्बर ११ र १२) सम्मेलन आयोजना हुँदैछ । मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठका अनुसार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दीपक काफ्ले, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेकपा (एमाले) की प्रमुख सचेतक एवं राष्ट्रियसभा सदस्य रोशनी मेचे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल र नेकपाका रमेश मल्ललगायतको विशेष सहभागिता रहनेछ ।

मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत करिब २५ लाख नेपाली श्रमिकले भोगिरहेका व्यावहारिक समस्या, चुनौती र नीतिगत जटिलतालाई सिधै नेपालको संसद् र सरकारसम्म पुर्‍याई समाधानका लागि गम्भीर ध्यानाकर्षण गराउन विभिन्न दलका उच्च प्रतिनिधिलाई एकै मञ्चमा आमन्त्रण गरिएको संयोजक श्रेष्ठले स्पष्ट पारे ।

सम्मेलनअन्तर्गत सञ्चालन हुने आठवटा छुट्टाछुट्टै विषयगत सत्रमार्फत मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने उपाय, श्रमिकका हकअधिकार तथा नेपाली डायस्पोराको पुँजी र लगानी नेपाल भित्र्याउने रणनीतिमाथि गहन बहस हुनेछ । यसैगरी, नेपाल र मध्यपूर्वबीचको सम्बन्धलाई श्रम आप्रवासनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, आर्थिक साझेदारी, महिला सशक्तीकरण र युवा पुस्ताका सरोकारलाई समेत सत्रमा समेटिनेछ । विगतमा श्रमिकका समस्याबारे मात्र चर्चा हुने गरेकोमा यसपटक श्रमिकका रूपमा मध्यपूर्व पुगेर आफ्नै व्यवसाय विस्तार गर्दै हजारौँलाई रोजगारी दिने हैसियत बनाएका नेपाली उद्यमीहरूका प्रेरणादायी सफलताका कथासमेत उजागर गरिने आयोजकले जनाएको छ ।

सम्मेलन सफल बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्मालगायतले आर्थिक सहयोग उपलब्ध गराएका छन् भने शर्माले सहइभेन्ट पार्टनरका रूपमा रहने घोषणासमेत गरेका छन् । सम्मेलनले सुरक्षित श्रम आप्रवासन र आर्थिक समृद्धिका विषयमा साझा धारणा निर्माण गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस