२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

कबिता – “बुढ्यौली र सम्झना “

 

जब आँखा धमिलिन थाल्छ
अनि देखिन्छ गाउँको सुन्दरता
सेता हिमाल , टम्म मिलेका बस्ती
फराकिलो फाट अनि रातै फुलेका गुराँसका जङल
मेलापात बनिबुतो गर्नजानेका हुल
हाट बजार बाट फर्कने हरु को ताती
बस , यहि त हो सम्झिने
किनकी
बुढेसकालमा शरीरले केही गर्न नसक्ने

मनले गर्न सक्ने सबै हुन्छ नि त ।

जब कान सुन्न नसक्ने हुन थाल्छन
अनि सुन्न थालिन्छ गाउँमा बग्ने खोलाको अवाज
बनपाखाका कोइलीका आवाज
गाउको नौमती बाजाको ताल
मुरली र बासुरीका मधुर धुन
गोठ्मा बाधिएको लौनो भैसीको अवाज
टौवा मुनि घाम ताप्दै लडिरहेका बाछाबाछीको चक्चक
बस
यहि त हो सम्झिने
किनकी
बुढेसकालमा शरिरले केहि गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त ।

जब शरीरका छाला चेतनशुन्य हुन थाल्छ
अनि महशुस हुन थाल्छ
गाउँको स्वच्छ हावाको चिसोपनको स्पर्श,
गाँस दाउरा र स्याउलाका भारी बोक्दा
ओसिएको ढाड र चिलाइको अनुभव,
गाउँका बैद्यले नाडी र निधार छाम्दाको तातोपन
पाखा पखेराका काडाले पैताला घोच्दाको चस्को,
खोला खोल्साका सिस्नुका पातले पोल्दाको डाहा
बस
यहि त हो सम्झिने
किनकी
बुढेसकालमा शरीरले केहि गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त ।।

जव इन्द्रियहरुले गति लिन छोड्छन
अनि यादहरु पल्टिन थाल्छन जवानिका
रोधी र घाटुनाचमा रमाउदाको दृश्य ,
प्रेमिकाका नशालु आँखा सङ हारेको क्षण
आफुले कोरेको पहिलो प्रेमपत्र र पहिलो सम्बोधन
प्रेमिका सङको पहिलो चुम्बन,
पहिलो सुहागरात ,त्रासै त्राश बीचको शिघ्र स्खलन
यहि त हो सम्झिने
किनकी
बुढेसकालमा शरीरले केही गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त ।

सान्सारिक रमिता हेरेर जब मन थाक्छ
अनि खोज्छ एकान्तको बसाई
भक्तालुहरुको संगत शख घन्टाको धुन
पुजा पाठ भक्ती भजन तिर्थ व्रत
मठ मन्दिर चैत्य गुम्बाको शितलता ,
माया र मोह सङ्गको मुक्ति ,
आध्यात्मिक सन्सारको चिन्तन ,
अलौकिक शक्ति प्रतिको समर्पण
यहि त हो सम्झिने
किनकी
बुढेसकालमा शरिरले केही गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त ।

यो जिन्दगी के छ र
केवल सम्झनु त छ नि
जव केही गर्न सकिँदैन
त्यति बेला सबै सबै थोक गर्न सकिन्छ ।
केवल स्मरणमा ।
सबै चिज सबै थोक ।
स्मरण भित्रको अतीत सबै सबै ।

धन्यवाद

सिताराम थापा
लमजुङ

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस