दोहा, कतार।
भोजपुर सेवा समाज कतारको आयोजनामा अनाथ बालबालिकाको सहयोगार्थ, अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदान–प्रदानसहित सांस्कृतिक तथा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
भोजपुर सेवा समाज कतारका अध्यक्ष महेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकारहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कतारमा रहेका भोजपुरे बासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष रुद्र शर्मा आचार्य रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि आचार्यले प्रवासमा रहेर पनि सामाजिक सेवामार्फत मातृभूमिप्रतिको दायित्व निर्वाह गरिरहेको भोजपुर सेवा समाज कतारको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले सामाजिक एकता, आपसी सद्भाव र मानवीय सेवाको भावना थप मजबुत बनाउने बताए ।
कार्यक्रममा अनेसास नवोदित साहित्यिक वाचनालयका साहित्यकारहरूले दमदार साहित्यिक बाचन प्रस्तुत गरेका थिए। गजलकार प्रदीप दाहाल र यादव रेग्मीको गजल बाचनले सभाहलभरि “वाह–वाह”को माहोल सिर्जना गरेको थियो भने कवि सिताराम थापा र रोजिना भट्टराईले सुनाएका मार्मिक कविताले उपस्थित दर्शक–श्रोताहरूलाई भावुक बनाउँदै धेरैको आँखा रसाएको देखिन्थ्यो ।
सांस्कृतिक कार्यक्रममा अतिथि कलाकारहरूका रूपमा गायिका गुना मगर, गायक नारायण देवकोटा, रस्मी सेन्चुरी, कलाकार खड्ग बस्नेत, नृत्याङ्गन ईश्वरी केशी भण्डारी, सिर्जना नेपाल, मिलन खत्री, भीम कार्की, ईश्वरी बस्नेत, सजिना बस्नेत, शौरभ आचार्य र इश्वरी कार्की लगायतका कलाकारहरूले आ–आफ्ना उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए भने भोजपुरे कलाकार मिलन खत्री ले झण्डै आधा दर्जन गीतमा सबैलाई नचाएका थिए।
कार्यक्रमको आकर्षणका रूपमा भाग्यशाली चिठ्ठा कार्यक्रम समेत सञ्चालन गरिएको थियो। भाग्यशाली चिठ्ठामार्फत प्रथम पुरस्कारस्वरूप ल्यापटप, द्वितीय पुरस्कार टेलिभिजन, तृतीय पुरस्कार मोबाइल फोन प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कारस्वरूप चार जना भाग्यशाली विजेतालाई स्मार्ट वाच प्रदान गरिएको थियो। भाग्यशाली चिठ्ठाले कार्यक्रममा सहभागीहरूको उत्साह थपेको थियो।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान, साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिहरू र सामाजिक सहयोगलाई एकै साथ समेटिएको यस कार्यक्रमले नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्दै प्रवासमा सामाजिक सद्भाव र मानवीय सेवाको सन्देश फैलाएको सहभागीहरूको धारणा थियो। भोजपुर सेवा समाज कतारले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने कार्यक्रम संयोजक राम कुमार कोइरालाले बताए । शुभकामना आदानप्रदान कार्यक्रम लाई संस्थाका सचिव जीवन थापाले सहजीकरण गरेका थिए। कार्यक्रमको अन्तिम सम्म पनि सबै भोजपुरे बसि कार्यक्रम समापन गरेको देख्दा अन्य जिल्ला बाट आएका अतिथिहरुले भोजपुर सेवा समाज कतारको प्रशंसा गरेका थिए। कार्यक्रममा प्रस्तुती दिने सम्पूर्ण साहित्यकार तथा कलाकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।
