२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

स्थानीय चुनावमा युवाको परीक्षा

दोहा ।

स्थानीय चुनावको घोषणाले राजनीतिमा हिम्मतिला पाइला सारिरहेका नयाँ पुस्तामा आशा छाएको छ । राज्यको तल्लो राजनीतिक एकाइमा नयाँ पुस्ता प्रवेशको सम्भावना उत्तिकै छ । चुनाव पछि स्थानीय निकायका सकारात्मक सम्भावनाका ढोका उघारिनेछन् । तल्लो तहमा विकास र समयानुकूल परिवर्तनको चाहना प्रकट भएपछि केन्द्र माथि परिणाममुखी नीति तय गर्ने दबाब पर्न सक्छ । तल्लो तहको भावना र चाहना सुनेर योजना बनाउने र कार्यान्वयन गर्ने बाध्यतात्मक अवस्था आउँछ ।

कसैको निगाहामा नभई क्षमताले अवसर पाउनुपर्ने मान्यता स्थापित गर्न साहसी कदम चाल्नुपर्छ । त्यसका लागि युवाहरूले हिम्मत देखाउन सक्नुपर्छ । पुरानो पुस्ताको निगाहाको भर पर्ने कि क्षमताको कदर हुने पद्धति निर्माणमा जुट्ने, आधुनिक प्रविधिमा पहुँच बनाएको चेतनशील नयाँ पुस्ताका सामु परीक्षाको घडी आएको छ ।

अर्कोतर्फ, राजनीतिक नेतृत्व विकासमा चल्दै आएको टीके प्रवृति माथि धक्का पर्छ । वैधानिक राजनीतिक निकायमा युवापुस्ताले बढी भन्दा बढी स्थान लिएर देशलाई सार्थक परिणाम दिने अवसर निर्माण हुन्छ । स्थानीय तहमा समावेशी सहभागिता कार्यान्वयनको अवसर बन्छ । अवसरबाट वञ्चित पारिएका क्षमतावान् नयाँ पुस्ताले भूमिका निर्वाह गर्न सक्ने माहोल बन्न पुग्छ ।

केन्द्रीय तथ्यांक विभागले सन् २०१४ मा नेपाली युथ इन फिगर्समा उल्लेख गरेअनुसार नेपाल सरकारले युवाको परिभाषामा राखेको १६ देखि ४० वर्ष उमेर समूहको संख्या कुल जनसंख्याको ४० प्रतिशतको हाराहारीमा छ । कुनै पनि देशमा यति ठूलो प्रतिशत युवा संख्या एक युगमा एक पटकमात्र हुन्छ । देशमा रेमिट्यान्स भित्राउनदेखि उत्पादन वृद्धिमा यिनै उमेर समूहले भूमिका खेलिरहेछन् । युवाहरू रेमिट्यान्स भित्राउन मात्रका लागि होइनन् । देशको राजनीतिक बागडोर हाँक्ने चालक पनि हुनुपर्छ । यसका लागि मौका आएको छ, चुकाउनुहुन्न ।

युवाहरूको उत्साहजनक जनसंख्या र देशमा उत्कृष्ट राजनीतिक दृष्टिकोण र कामकारबाहीको आवश्यकतालाई मध्यनजर गर्ने हो भने राजनीतिमा युवाको उल्लेख्य उपस्थिति अपरिहार्य छ । युवाहरूले राजनीतिमा बलियो स्थान सुनिश्चित गर्ने सम्भावनाको सुवर्ण अवसर छ । सुझबुझ र एकताभाव देखाएर बढ्न सके युवाहरूले लामो समय पद ओगटेर बसेका पाका नेताहरूलाई समयको आवश्यकताअनुसार धक्का दिन सक्छन् ।

युवाहरूले ‘हामी हौं, भन्ने भावनाका साथ प्रभावकारी भूमिका प्रदर्शन गर्न सके स्थानीय निकायमा युवाहरूलाई उम्मेदवार बनाउन दलहरू बाध्य हुन सक्छन् । देश र जनताले चाहेको नयाँ अनुहारमात्र होइन, नयाँ सोच,, जोस,, जाँगर र काम गर्ने क्षमताको पुस्ता हो । त्यो क्षमता नेपालका नयाँ पुस्तामा छ । युवाहरूले आफूलाई त्यसका लागि सक्षम ठानेर मात्र हुँदैन, व्यवहारबाट प्रमाणित गर्न सक्नुपर्छ ।

कठिन प्रतीक्षा

विभिन्न गतिरोधका वावजुत फेरी स्थानीय चुनाव घोषणा गरिएको छ । यो अवस्थामा उदयमान युवाहरूले अवसरलाई गुमाउनु हुदैन । राज्यको राजनीतिक संरचनाको वैधानिक तल्लो निकायमा जनप्रनिनिधि बनेर काम गरेका पाका अभिभावकहरुलाई सम्मान गर्दै सल्लाह सुझावका साथ नयाँ गन्तव्य तय गर्नु कठिन हुन् सक्छ l स्थानीय तहमा युवाको भिजन र जोस खर्चने अवसर, अर्को तर्फ युवा पुस्ताको स्थानीय चुनावमा प्रत्यक्ष व्यक्तिगत क्षमताको पनि परिक्षा हो l राजनीतिक अवसर पाएका कतिपय नयाँ पुस्ताका नेताहरू टुप्पाबाट पलाएका जस्ता भएका छन् । तल्लो निकायका जनताको भावना नबुझी नीति निर्माण लाद्न खोज्दा आलोचितमात्र नभई असफल हुने गरेका छन् । यसले पनि स्थानीय निकायमा राजनीतिक गतिविधि र अनुभवको महत्व बुझ्न जरुरी छ । अब स्थानीय चुनाव भएमा तल्लो तहमा नयाँ पुस्ताले लोकतान्त्रिक अभ्यास गर्नेछ । राजनीतिक गतिविधि बढ्नाले युवाहरूमा दिगो विकास र शान्तितर्फ अग्रसरता बढ्छ ।

स्थानीय निकायमा जनप्रतिनिधि हुँदा स्थानीय निकाय बलियो हुनाका साथै राज्यको तल्लो एकाइसम्म विकास निर्माणले गति लिएको इतिहास छ । तल्लो एकाइसम्म लोकतान्त्रिक अभ्यास हुँदा सिंहदरबारसम्म लोकतान्त्रिक प्रणाली बलियो हुँदै गएको छ । पछिल्लो घटना क्रमले समयमा स्थानीय चुनाव हुनै नदिने गतिविधि अवस्थामा समेत पुगेको थियो ।

केन्द्रमा अस्थिर राजनीतिको हाली मुहाली भएर सहमतिका नाममा सिन्डिकेटको गलत पद्धति विकास गरे । आजसम्म गरिएका यस्ता गल्तीमा पूर्ण्विराम लाग्ने अवस्था निर्माण गर्न पनि चुनाव अपरिहार्य छ ।

नेता र चुनावी अवस्था

पाँच बर्ष पछि प्रमुख दलहरूमा स्थानीय चुनाव गर्नुपर्छ भन्ने हेक्का त्यसै आएको होइन । संविधानको नियमानुसार स्थानीय चुनाव अनिवार्य सर्त भएकाले बाध्यात्मक अवस्थाले आएको हो । स्थानीय चुनावको घोषणा गठबन्धन जोगाउनका लागी लगाइएको पासा पनि हो जस्तो लाग्ने गर्छ । चुनावका लागि सत्ता गठबन्धनको प्रमुख घटक काङ्ग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डमाथि दबाब परेको छर्लङ्ग छ ।

नत्र, प्रचण्ड केही समय पछाडि धकेल्ने सोचमा थिए । नेपाली राजनीतिमा हरेक निर्णय विधि र विधानलाई केलाएर गहिरो अध्ययनको निचोड पछि गरिँदैन । त्याग र तपस्याको राजनीतिको इतिहास लेखिएको छ तर लेख्न साहस गर्नेहरू छैनन् । स्वार्थको राजनीतिले ढपक्क ढाकेको नेताहरूको मानसपटलमा त्यागको भावना नहुञ्जेल आवधिक चुनावमा समेत शंका गर्नुपर्ने अवस्था रहिरहन्छ ।

त्यसमाथि राजनीतिक निर्णयहरू दल विशेष मात्र नभई नेता विशेषको राजनीतिक भविष्यको जोखाना गरेर गरिन्छ । त्यसमाथि पनि विज्ञहरूको सुझावभन्दा ज्योतिषहरूको भविष्यवाणीलाई पत्याउने नेताहरू नीति निर्माण तहमा हावी छन् । नेताहरूको जस्तो सोच, बुझाइ र व्यवहार छ राजनीतिमा त्यस्तै परिणामहरू देखापरिरहेछ ।

त्यसको मूल्य देश र जनताले भोग्नुपरिरहेछ । निचोडमा भन्नुपर्दा वर्तमान राजनीतिका शीर्ष नेतृत्वदेखि तिनको उत्तराधिकारी दाबी गर्नेहरूसमेतबाट देशको सुन्दर भविष्य कल्पना गर्नु गलत ठहर्छ । तिनले स्थापित गरेको राजनीतिक मान्यता भनेको हाम्रालाई अवसर दिने राम्रालाई लखेट्ने, निष्ठाको राजनीति गर्नेलाई निरुत्साहित पार्ने, नेतृत्व विकासमा सकभर नातावाद नभए एस म्यानलाई च्याप्ने र नयाँ पुस्तालाई निर्णय तहमा पु¥याउन भन्दा दास समान बनाउने नै हो ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस