२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

कतारको ऐतिहासिक जित: युएईलाई २–१ ले हराउँदै विश्वकपमा प्रवेश, समर्थकहरुले उत्सव मनाए

दोहा ,कतार

मंगलबार, अक्टोबर १४ तारीक कतारले दोहाको जासिम बिन हमद रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा संयुक्त अरब इमिरेट्स (UAE) लाई २–१ ले पराजित गर्दै २०२६ फीफा विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

यो जितसँगै कतारले लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ। पहिलो पटक फिफा २०२२ मा आयोजक राष्ट्रको हैसियतमा सहभागी भएको कतारको फुटबल टोलीले एशियाली छनोट समूह ‘ए’ को शीर्ष स्थान सुरक्षित गर्दै प्रत्यक्ष २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएलगत्तै घरेलु टोली कतारले खेलमा शुरुदेखी नै नियन्त्रण जमायो। खेलको ४९औं मिनेटमा बुलेम खौखिले हेडरमार्फत पहिलो गोल गर्दै कतारलाई अग्रता दिलाए। ७४औं मिनेटमा पेद्रो मिगुएलले अर्को गोल थपेपछि जित सुनिश्चित जस्तै भयो।

खेलको अन्तिम क्षणमा युएईका सुल्तान आदिलले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमा सीमित रह्यो। यस खेलमा कतारका खेलाडी तारेक सलमानले रातो कार्ड पाए।

कतारका स्टार स्ट्राइकर अक्रम अफिफले दुवै गोलमा निर्णायक असिस्ट दिए र उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

२०२२ मा घरेलु आयोजकका रूपमा सहभागी भएको कतार अब पहिलो पटक प्रतिस्पर्धात्मक योग्यता जितेर विश्वकपमा पुगेको टोली बनेको छ। यो उपलब्धिलाई कतारी खेल इतिहासको नयाँ अध्यायको रूपमा हेरिएको छ।

खेल समाप्त भएलगत्तै कतारभर उत्सवको माहोल छायो। राजधानी दोहाका मुख्य सडकदेखि अल–खोर, अल–वकरा, लुसैल र अल रय्यानसम्म समर्थकहरूले राष्ट्रिय झण्डा र टोलीका ब्यानर बोकी सडकमा विजय र्याली निकाले।

सडकमा गाडीको हर्न, ढोल–नगारा र राष्ट्रिय गीतको तालमा सयौं समर्थकहरू उत्सवमा सहभागी भए।

कतारको प्रसिद्ध सुक्र वाकिफ मार्केट, कर्निश रोड र लुसैल बुलेवार्ड क्षेत्र रातो र सेतो बत्तीले झलमल गराइएका थिए।

कतार स्थित नेपाली समुदायले पनि विभिन्न माध्यमबाट खुशीयाली साँटेका छन्।

कतारी राष्ट्रिय टोलीको समर्थक क्लब अल–अन्नाबी फ्यान्स ग्रुपले खुशी व्यक्त गर्दै भन्यो “यो जित हाम्रो फुटबल इतिहासको गर्वको क्षण हो। हामी अब प्रतिस्पर्धात्मक रूपमा विश्वकपमा पुग्ने राष्ट्र भइसकेका छौं।”

युएईले पनि प्ले–अफ चरणबाट विश्वकप प्रवेश गर्ने सम्भावना बाँकी राखेको छ। अर्को चरणमा उनीहरूले साउदी अरेबिया वा इराकसँग दुईपटकको निर्णायक प्ले–अफ खेल्नेछन्। यी खेलहरुमा सफल भए उनीहरू अन्तरमहाद्वीपीय प्ले–अफमार्फत अन्तिम अवसर पाउने छन्।

टोली अब आगामी महिनामा तयारी मैत्री खेलहरू खेलेर २०२६ विश्वकपका लागि अन्तिम तयारीमा जुट्नेछ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस