दोहा – कतारमा हुने फिफा विश्वकप फुटबल सफल बनाउन कतारस्थित नेपाली राजदूतावासले नेपाली समुदायलाई अपिल गरेको छ । विश्वकप यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदैछ ।
कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले पनि सम्पादन गर्नुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउन जिम्मेवारपूर्ण सहयोग गर्नु गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।
यस क्रममा उनले नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्याएको योगदानको कतार सरकारका उच्चाधिकारीहरूले मुक्तकण्ठले प्रंशसा गरिररहेको जानकारी दिएका छन् ।
नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणाहरू रहेका छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्याउन सबैले निरन्तर रुपमा सकारात्मक भूमिका र जिम्मेवारी वहन गर्नुपर्नेछ ।