२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

एफएनजे कतार शाखाको १७ औ स्थापना दिवसमा विषयगत वक्ता बिमल सुवेदीको धारणा

नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विषयगत वक्ताको रुपमा निम्त्याईएका अतिथी वक्ता बिमल सुवेदीले “एकतावद्व अथा व्यबस्थित नेपाली सदुदायको लागि गुणात्मक संस्था” विषयमा आफ्नो मन्तव्य राखेका थिए।

 

उनले राखेको मन्तव्यको पुर्ण पाठ:

 

कतार स्थित नेपाली समुदाय दक्षिण एसियाको सबैभन्दा खुला समाज हो भन्नु कुनै नौलो कुरा हुँदैन । दक्षिण एसियामा नेपालमा मात्र यस्तो सहज वातावरण छ, जहाँ सामन्य नागरिक देखी विशेष व्यक्तिसँग भेट्न र बोल्न त्यती अफ्ठ्यारो छैन । सुचनाका माध्यमहरु स्वतन्त्र छन । एक नेपाली आत्मा रुँदा अर्को नेपालीलाई पिडा हुने हाम्रो समाज हो ।

प्रवासमा पनि रहँदा बस्दा पनि सोही भावना हुनु आँफैमा गर्विलो विषय हो । चाहे मिडियाको प्रभाव कम रहेको बेलामा चिट्ठीपत्र मार्फत होस या वर्तमानमा सोसियल मिडियाको भरपुर प्रयोग गरिरहेको बेलामा किन नहोस । चिट्ठी पत्र झोलामा बोकेर ल्याएर ‘नेपाली चोक’ (तत्कालिन बेला कतार भरी छरिएर रहेका नेपालीहरु साप्ताहिक विदाको दिन भेटघाट र घुमफिरको लागि जम्मा हुने थलो, जुन हालको परिमार्जित सुक वाकीफलाई नेपाली चोक भनिन्थ्यो र बिस्मिल्लाह चोक समेत भनिन्थ्यो) मा खोलेर वितरण गर्दा र पत्र वा नासो घर पठाउदा जुन आनन्द आत्मियता थियो, त्यो आत्मियता अहिले प्रविधि र सोसियल मिडियाले खोसेको हो कि जस्तो लाग्दछ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कतारमा काम गर्न आउने नेपालीको संख्या दुई मिलियन भन्दा बढी नाघीसक्यो होला । अहिलेपनि कारीव ३ लाखको हाराहरिमा नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ । जसमा पछिल्लो समयमा पुरुषको संख्या कम हुँदै गएर महिलाहरुको उपस्थिती बढ्दै गएको छ । कतारमा नेपाली समाज स्थापना र विकास हुनुलाई त्यो झोलामा बोकेर ल्याएको पत्र वितरणबाट सुरु भएको मान्नु पर्दछ ।

तत्कालिन अवस्थामा समाजमा मिडियाको प्रभाव कम थियो भने परेवा वाजको चङुलमा फसेर दु:ख पिडामा परेका नेपाली धेरै हुन्थे दुतावासमा सजिलै पहुँच थिएन । समस्याको समाधानको लागि संघ-संस्था खोल्ने काम त्यहीबाट सुरु भएको हो । पहिलो समाज, नेपाली समाज भनिन्नछ तर अस्तित्वमा छैन । धेरै संघ-संस्थाको स्थापना २००३ देखी २००८ सम्म भएको पाइन्छ । तत्कालिन अवस्थामा श्रमिकको सवालमा सरोकारवालाको कमजोर उपस्थीति भएकै कारण यती धेरै संघ-संस्थाहरु गठन भएका हुन ।

संघ-संस्थाहरुले पीडितलाई घर फर्कने टिकट खान बस्नको व्यवस्था समेत गरेका छन भने गैर आवासिय नेपाली संघ राष्ट्रिय परिषद कतार मार्फत विगतमा दुतावासमा अपुग कर्मचारीलाई सहयोग स्वरुप निश्चित अवधिको लागि ‘पेईङ्ग स्टाफ’ राखेको पनि उदाहरणहरु छन । यि सबै कार्य श्रमिक हकहितको लागि गरिएका हुन । शुरुमा श्रम स्वीकृति नहुनु, न्युनतम तलब मापदण्ड नतोकिनु, झोले व्यवसायीहरुले फर्जी कम्पनी सिर्जना गरी भिसा निकाली मान्छे ल्याएर अलपत्र पार्ने, कतिपयले काम गराउने तर तलव नदिने स्थिति थियो ।

विस्तारै संघ-संस्थाको उपस्थिती स्थानीय कानुनले प्रत्याभूति गरे बमोजिम कामदारको अधिकारको पैरवी गर्ने दुतावासको कार्य सम्पादन, सामाजिक संघ-संस्थाको खबरदारी, पत्र-पत्रीकाको सुचना सम्प्रेषणले न्याय दिलाउन सक्षम भएकै कारण समस्याको न्युनीकरण हुँदै गएको यथार्थ छ । तर विभिन्न कारणले कोमामा पुगेका, जेलमा पुग्नेहरुको अवस्था विकराल छ । अब हामी एकवद्ध भएर यस्ता समस्याहरुसँग जुध्नु पर्दछ ।

हामीले हाम्रो मनोवृत्तिको अधिकतम हिस्सा मुलुकबाट आउँदा आफूसँगै लिएर आएका हुन्छौँ । जुन मनोवृत्ति हाम्रो शारीरिक विकासको क्रमसँगै समाजका प्रचलित विचार, परम्परा, स्वभाव र प्रवृत्तिबाट हामीमा समाहित भएका हुन् । हामीलाई कार्य सम्पादन भन्दा बढी सम्मान चाहिन्छ, अरूको तुलना आफूसँग गर्दा ज्ञान, सीप, इमानदारिता, अनुशासन र सामाजिक त्याग भन्दा पनि आर्थिक अवस्था, पहुँच र रवाफलाई मापक मानेर गर्दछौँ ।

अरूको सम्मानमा ध्यान दिनुभन्दा अरूबाट आफ्नो मूल्यांकन र सम्मान होस् भन्ने चाहना राख्दछौ । मेरो आवश्यकता समाजको कुनैपनि क्षेत्रमा अपरिहार्य छ भन्ने मान्यता राख्नु दम्भ प्रवृत्ति हो । पहिलो पुस्ताका डायास्पोराका नेपाली भएकोले प्रायः सबै यो मनोदशामा चक्कर काटिरहेका छौं, यस्ता मनोदशाबाट हामी मुक्त हुनु जरुरी छ ।

कतिपय अवस्थामा पवित्र उद्देश्यका साथ खोलिएका संघ-संस्थाहरुको गतिविधि तिनका प्रतिनिधिका कारण पनि हामीले लज्जास्पद हुनपर्ने अवस्था आएको छ । संघ-संस्थाको गतिविधि र कती गुणात्मक र कती देखावटी छ, मुल्याङ्कन गर्ने बेला आएको छ । “संस्था संख्यात्मक भन्दा गुणात्मक हुनु जरुरी छ र कसरी बनाउन सक्दछौं” यो बिषयमा वहस गर्नु आवश्यक छ । संघ-संस्थालाई गुणात्मक र बलियो बनाउन सके नयाँ देखिएका समस्याहरुको समाधान गर्न सहज हुनेछ । व्यक्तिगत सुझाव गुणस्तरीय र सशक्त बनाउन संस्था खारेजी हैन भएका संघ-संस्थाहरुलाई तिनको उदेश्य तथा लक्ष्यको आधार मानी क्षेत्रीय, जातीय, धार्मिक, लैङ्गिक तथा वैचारिक विभिन्न सिराबाट एकिकृत गर्ने फ्रेमवर्क बनाउँदा उचित हुन्छ ।

मैले श्रम ऐनमा परिमार्जन गर्नुपर्ने दुतावाससँग अपेक्षा राख्दछु, किनभने म्यानपावर कम्पनिको मार्केटिङमा मात्रै श्रम बजारको अवसरलाई ग्र्याब गर्न सकिन्छ भन्ने मान्यताबाट पछि हट्नु जरुरी छ। संस्थागत र व्यक्तीगत श्रम नीति व्यवहारिक छैन । हाम्रो श्रम नीति बजारमा खाली लेवर मात्रै निर्यायत गर्ने जस्तै बनेको छ । कतारको श्रम बजारलाई नै हेर्ने हो भने आज नेपालीहरु कम्पनीको व्यवस्थापन तहमा छन, धेरैजना कम्पनीका मालिक पनि हुनुहुन्छ, एकाउन्टेन्ट वा साहयक कर्मचारी प्रसस्तै हुनुहुन्छ ।

तल्लो तहदेखि माथिल्लो तहसम्म नेपालीहरुको पहुँच विस्तारै बढेको छ । प्रतिस्पर्धी पुर्ण बजारमा हामीले सहजरुपमा पाएको अवसरलाई सही सदुपयोग गर्न सकिरहेका छैनौ । साना-साना पसलका जागिर हामीले गुमाउदै गएका छौ, यो प्रती नेपाल सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु । त्यस्तै पीडित कामदारलाई न्याय दिलाउनु मुख्य जिम्मेवारी दुतावासकै हुन आउछ । स्थानीय कानुनले प्रत्याभूत गरे बमोजिम कामदारको अधिकारको पैरवी गर्न दुतावासले आफ्नो कार्य अगाडि बढाउनु पर्ने देखिन्छ । दुतावासप्रति कामदारको धेरै ठुलो अपेक्षा पनि छैन आफ्नो गुनासोलाई एकपटक सुनिदियोस्, र सम्वन्धित कम्पनीसँग कुरा गरिदियोस् भन्ने हो ।

वर्तमानमा कम्पनी भिषामा आएर कम्पनी र काम नपाउने समस्याहरु न्युन बनेका छन अझैपनि तलवी समस्याहरु भने देखी नै रहेका छन । अहिलेपनि कथित आजाद भिषाको नाममा हुने गरेका ठगीका प्रकरण बढी नै देखिन्छ, धेरैजसो समस्या अहिले सडक दुर्घटना, हस्पिटल, जेल र अदालत भित्र रहेका छन । त्यहाँका अवस्था बाहिर आउदैनन् र ति सतहमा देखिएका छैन, समस्याको चाङ यहाँ छ कम्पनी छोडेर भाग्नेहरुका विविध समस्या छन । पीडितहरुको समस्यासँग जुध्न परम्परागत रुपमा संघ-संस्थाको उपस्थित छ भनेर मात्रै हुँदैन गुणात्मक फड्को मार्नैपर्ने हुन्छ, संघ-संस्था, मिडिया क्षेत्र र दुतावास मिलेर तीन खुट्टे ओदानको शैलीमा कार्य गर्नु जरुरी छ ।

दोहामा क्रियाशील आफुलाई सामाजीक संस्थाका चरित्र देखाउने गैरआवासीय नेपाली संघ, जिल्लागत सामाजिक संघ-संस्था, वैचारिक संस्थाहरुले पनि महत्वपुर्ण भुमिका खेल्नु पर्दछ । ती संस्थाहरुमा सक्रिय रुपमा क्रियाशील व्यक्तिहरुले स्थानीय संयत्रहरुले कसरी कार्यसम्पादन गर्छ भन्ने विषयमा जानकारी राख्न जरुरी छ । जस्तो : आप्रवासी कामदारको हितमा कामगर्ने राष्ट्रिय मानव अधिकार समिति, मानव अधिकार विभाग, श्रम विभाग र श्रम कार्यालयहरु, उच्च अदालतको कार्य प्रक्रिया बारे मात्रै आफुसँग सम्पर्कमा आउने पीडितलाई सही सुचना दिनसके ठुलो सेवा हुन्छ । पीडितहरुलाई सहज रुपमा उनिहरुको चाहना अनुसारको व्यवस्थापना गर्न कसरी सकिन्छ ? पीडितको संख्यामा न्युनिकरण कसरी ल्याउन सकिन्छ ? सामाजिक संघ-संस्था र दुतावास बिच बारम्बार ल छलफल भई सुचना प्रवाह गर्न जरुरी छ ।

पत्रकारिताको मूलभूत दायित्व हो : पत्रकारिताको दायित्व कुनै पनि समस्याको चुरो केलाउने र समस्याको समाधानको लागि दवाब सिर्जना गर्नु नै हो । कतारमा विगतमा संचालन भएर बन्द गरिएका छापा पत्रीका र त्यसपछिका अन्लाइन पत्रीकाहरुले श्रमिक समस्या र समाधानका विविध विषयमा मुद्दाहरु उठाउदै आएका छन, तथापी कही कतै यथार्थ विषयलाई उठान गर्न चुकेको कतै उठेका विषयको सम्बन्धित निकायले कति गम्भीर भएर ध्यान दियो भन्ने कुरा महत्वपूर्ण रह्यो ।

समाजलाई धारिलो, तीखो र प्रभावकारी बनाउन पर्ने आजको आवश्यकता हो र त्यो अवाश्यकता तव पुरा हुन्छ जब निरन्तर सञ्चार माध्यम मार्फत मिडियाले दवाब दिन सक्षम हुन्छन । मिडियाले समाजमा जे भएको छ त्यसलाई देखाउने हो त्यो कार्यमा कतारको हाम्रो पत्रकारिताले कलम चलाऊन सक्नु पर्दछ ।

“सिक सिकेर नथाक, व्यवहारमा जाऊ र पुनः सिक अन्त्यमा समाजलाई पनि सिकाऊ” भन्ने अग्रजहरूको युक्तिले हामीलाई जिम्मेवारी बन्न प्रेरित गर्दछ । जसको मर्मलाई आत्मसात् गर्नु ऊ वा त्यो भन्दापनि सबैको जिम्मेवारी हो । हाम्रो समाजलाई परिष्कृत गर्न आवश्यक परे परम्परालाई चिर्दै नयाँ तरिकाले सोच्न सक्नुपर्छ । पुराना पूर्वाग्रही मनोदशालाई त्याग गर्दै आधुनिक र नयाँ शैलीलाई समय अनुसार परिवर्तन र समायोजन गर्दै अगाडि बढ्नु पर्दछ, तर यो परम्परालाई चिर्न त्यती सहज पक्कै छैन, चुनौती पूर्ण नै छ

अबको पुस्ताले समाजमा खोजेको व्यवहारिक बन्ने र व्यवहारमा उतार्ने सामाजिक, वैचारिक, जातिय, धार्मिक, लैङ्गिक तथा पेशागत संघ-संस्थाले आफ्नो कार्यनितिमा परिमार्जन गर्दै समय अनुकुल बनाउन जरुरी छ । नेपाली दुतावास संघ-संस्था तथा मिडिया क्षेत्र मिलेर कार्य गरेको सन्दर्भमा नेपाली समाजलाई चुस्त दुरुस्त बनाउँदै समस्याहरुलाई न्युनिकरण बनाउन हामी सक्षम हुनेछौ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस