२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

एनआरएनएले उठाउँदै आएका मुद्धालाई संम्बोधन गर्न गृहमन्त्रीलाई आग्रह

दोहा–गैरआवासीय नेपाली संघ एनआरएनएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई छुट्टाछुट्टै भेटेर एनआरएनएले उठाउँदै आएका मुद्धालाई संमबोधन गर्नका लागि आग्रह गरेको छ।


एनआरएनए उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपालीले सन २००३ देखि उठाएको नागरिकता सम्वन्धी मुद्दा सम्बोधन भएकोप्रति धन्यवाद दिदै गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकोमा सरकारलाई आभार व्यक्त गरेको हो।

गृहमन्त्री श्रेष्ठसँगको भेटवार्तामा ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै छिटै यो विधेयक कार्यान्वयनमा लैजानको लागि एनआरएनए प्रतिनिधि मण्डलले अनुरोध गरेको छ।

उक्त भेटघाटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नागरिकता विधेयक प्रमाणिकरणलाई युगकै सुन्दर उपहारको संज्ञा दिए ।

संघका उपाध्यक्ष आरके शर्माले ओमानमा आगामी जून २८ देखि ३० तारिखसम्म हुने मध्यपूर्वी क्षेत्रीय सम्मेलनका लागि गृहमन्त्री श्रेष्ठलाई निमन्त्रणा गर्दै श्रमिकका हक, हित र अधिकारका लागि नेपाल सरकारले थप जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए।

यसैगरी एनआरएनएको प्रतिनिधिमण्डलले श्रममन्त्री शरतसिंह भण्डारीलाई भेटेर ओमानमा हुने एनआरएनएको मध्यपूर्वी क्षेत्रीय सम्मेलनका लागि निमन्त्रणा गर्दै वैदेशिक रोजगारमा रहेका नेपालीहरुको वास्तविकता स्थलगतरुपमा बुझ्नका लागि आग्रह गरे ।

यही जून २८ देखि ३० तारिखसम्म ओमानमा हुन गइरहेको मध्यपूर्वी क्षेत्रीय सम्मेलनका लागि मन्त्री भण्डारीलाई आमन्त्रण गर्न पुगेका एनआरएनए उपाध्यक्ष,आरके शर्माले मध्यपूर्वका केही देशमा महिला श्रमिकलाई पुनः श्रम स्वीकृतिमा लगाइएको रोक अन्त्य गर्नुका साथै इराक लगायतका मुलुकमा रोजगारीका लागि जान लगाइएको निषेधलाई पुनरावलोकन गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार र एनआरएनको सहकार्य महत्त्वपूर्ण रहेको भन्दै ओमानमा हुने सम्मेलनबाट यसको बृहत् सुरुवात गरिने जानकारी पनि गराए ।

यस्तै सामाजिक सुरक्षा कोषमा कम्तीमा २ प्रतिशत लाभांशको व्यवस्था सरकारको तर्फबाट गर्नसके कोषप्रति श्रमिकको आकर्षण बढ्ने उनको भनाई थियो।

भेटका क्रममा संस्थापक अध्यक्ष महतोसहित, उपाध्यक्ष शर्मा, संघका सचिव गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लालसिंह खड्का,संस्थापक भीम उदास, टि. बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस