२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नवोदित साहित्यिक वाचनालय कतारको १५औं अधिवेशनसहित नवोदित कृति अवार्ड सम्पन्न

दोहा, कतार : नवोदित साहित्यिक वाचनालय कतारको १५औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनसँगै आदिकवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्ती, सातौं नवोदित कृति अवार्ड,  स्रष्टा सम्मान तथा बधाई कार्यक्रमसहित अनेसास नवोदितको  १३६औं वाचन डबलीअन्तर्गत विशेष रचना वाचन सम्पन्न भएको हो । गजलकार परीविक्रमद्वारा लिखित गजल संग्रह अंकमालको विमोचनसहित सम्पन्न अधिवेशन वाचनालयका अध्यक्ष रूप रसाइलीको सभापतित्व तथा अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनमार्फत आगामी एक कार्यकालका लागि नारायण भण्डारी ‘निर्जल’को नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको प्रथम उपाध्यक्षमा लीलानाथ घिमिरे, द्वितीय उपाध्यक्षमा सानु थपलिया, मोबाइल पुस्तकालय संयोजकमा सोम थापा, महासचिवमा शोभाराम ओली, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा धर्म सन्देश र सह-कोषाध्यक्षमा खिम पुन चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा सुरेश परियार ‘आभास’, अनवर अली र विनोद अधिकारी रहेका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक पत्रकार महासंघ कतार शाखाका कार्यवाहक अध्यक्ष दिल श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

डबली र सम्मान

 

चार साहित्यकारका विशेष रचना वाचनअन्तर्गत डबलीमा अनवर अली, लीलानाथ घिमिरे, शोभाराम ओली र  खेमराज सुवेदीले आफ्ना रचना वाचन गरेका थिए । सर्जकहरूले रचना वाचन गरीरहँदा बाँसुरीबाधक ख्याम भट्टराईले बाँसुरीको धुनमार्फत रचना वाचनलाई नयाँ उचाइ दिएका थिए । निवर्तमान अध्यक्षलाई कार्यसमितिले प्रदान गर्ने सम्मानअन्तर्गत नवोदितका प्रमुख सल्लाहकार टिका खड्का सम्मानित भएका छन् । त्यस्तै रचना वाचन गर्ने चारै जना सर्जक, बाँसुरीबाधक र कार्यसमितिका सल्लाहकारहरूलाई समेत सम्मान गरिएको थियो ।

कृति अवार्ड

 

कतारमा बस्दा या कतार छाडेर गएपछि लेखिएका नेपाली भाषाका सेवकहरूको कृतिलाई ‘नवोदित कृति अवार्ड’ प्रदान गर्दै नवोदितले हौसला बढाउँदै आइरहेको छ । सातौं संस्करणअन्तर्गत ‘नवोदित कृति अवार्ड -२०८०’मा ‘मैले देखेको कतार’ रमजान अली मियाँ, ‘सलेदो’ गजल संग्रह दीप मिलन, ‘मौसम’ गजल संग्रह- एनवि अन्जान र ‘सुलभ’ उपन्यास- शोभाराम ओलीका कृतिहरू दर्ता भएका थिए । ती कृतिहरू मध्येबाट ‘सुलभ’ उपन्यास संग्रहले उक्त अवार्ड जितेको छ । सुलभका लेखक शोभाराम ओली हुन् भने उनले अवार्डसँगै ५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्राप्त गरेका छन् ।

 

यसअघि महेन्द्र अदृश्य राई ‘अदृश्यको प्रतिविम्ब’ कविता संग्रह २०६९, भानु सुनुवार ‘रहरको बिस्कुन’ गजल संग्रह २०७०, लेख कार्की ‘मन्दिर’ गजल संग्रह २०७२, विनोद खड्का ‘ओला’ नियात्रा संग्रह २०७४ र मीनराज वसन्त ‘पिपिरी’ उपन्यास २०७६, ‘सनैया’ संग्रह २०७८ ले अवार्ड जितिसकेका छन् ।

 

नारायण भण्डारीले स्वागत मन्तव्य राखेको अधिवेशनमा सानु थपलियाले भानुभक्त आचार्यको जीवनी वाचन गरेका थिए । अधिवेशनमा कतारमा स्थापित थुप्रै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले पृथक तवरले कार्यक्रम सम्पन्न गरेकोमा गर्व लागेको बताए । खुला सत्रको समापन सभापति रसाइलीले गरेका थिए भने सहजीकरण महासचिव सोम थापाले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस