२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतार २०२३- २०२५ : अध्यक्षमा गुरुङको उम्मेदवारी

दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

झण्डै दुई दशकदेखि कतारमा बसोबास गर्दै आएका गुरुङले कतारका विभिन्न उद्योगमा रहेर काम गर्दै आएका श्रमिकको हितमा रहेर काम गर्ने बताएका छन् । कतारमा श्रमिकका गुनासा सुन्न र दुतावाससँग सहजिकरण गर्न हटलाईन ल्याउने उनको योजना छ ।

उनले आफ्नो चुनावी एजेण्डामा लेखेका छन्, “कतारमा काम गर्ने श्रमिकको पारिश्रमिक र इन्सुरेन्सको सुनिश्चितताका लागि पहलकदमी चाल्नेछु।”

हरेक ३ महिनामा एनसीसी कतारको आयव्यय संस्थाको अफिसियल वेबसाईट र फेसबुकमार्फत सार्वजनिक गर्नुका साथै गैर आवासीय नेपाली संघ (एनआरएनए)मा आर्थिक पारदर्शिता र संस्था सुद्धिकरणका लागि विशेष पहल गर्ने उनको योजना रहेको छ ।

यसअघि नै अध्यक्ष पदका लागि रमेश भट्ट, पदम गिरी, जैवी राई चाम्लिङ,सरिता भण्डारी पौडेल र अब्दुल रहमानको उम्मेदवारी दर्ता भैसकेको छ ।

एनआरएनए कतारको दशौँ राष्ट्रिय महाधिवेशन ३० जुलाईमा हुने भनिएको छ l निर्वाचन समितिले चुनावको टुंगो लगाउन ढिलाई गरेपछि अब यो निर्वाचन २७ र २८ तारिख हुने भनिएको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस