२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

एनसीसी कतारद्धारा कतार सरकारको गृह मन्त्रालय अन्तर्गतको जनसम्पर्क विभाग प्रमुख सँग भेटघाट सम्पन्न ।

दोहा।
कतारको विभिन्न सरकारी निकाय संग भेटघाट आरम्भ गरेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बुधवार गृह मन्त्रालय अन्तर्गतको जनसम्पर्क बिभागका प्रमुख बृगिडिएर अब्दुल्लाह खलिफा अल मुफ्ताहका प्रतिनिधि क्याप्टेन मुबारक शरीद अल मुत्लक संग भेट गरेको हो ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा प्रथम उपाध्यक्ष कृष्ण पन्थी, एनसीसी कतारका पुर्व कानुनी सल्लाहकार एवं राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मिया सहितको टोली सँगको भेटमा मन्त्रालयको तर्फबाट नेपाली समाजको सामाजिक उत्थान र बिकासको निम्ति विशेष कार्यक्रम तर्जुमा गर्न लागिएको क्याप्टेन मुबारकले बताउनु भएको थियो ।
कम्युनिटी रिच आउट अफिसका संयोजक फैसल अल हुदावीको पनि उपस्थिति रहेको भेटमा नेपाली समाजका विभिन्न सरोकारका महत्त्वपूर्ण बिषय र आगामी कार्ययोजनाहरु माथी छलफल गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । भेटका क्रममा एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष पन्थीले संघको कार्ययोजना सहितको दस्तावेज प्रस्तुत गर्नु भएको थियो ।
एनसीसी कतारले अधिकारीहरु सँग मुख्यतया नेपाली समुदायको लागि जनचेतनामुलक कार्यक्रम समय समयमा आयोजना गर्न, नेपालीका राष्ट्रिय चाडपर्वहरुको अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाउन, नेपालका उच्च पदस्थ अधिकारीहरुको भ्रमणको क्रममा नेपाली समुदायलाई भेटन सहजता गरिदिन, विभिन्न जनचेतनामुलक सुचना नेपाली भाषामा प्रकाशन प्रसारण गर्न, दुर्घटना विमा वापतको क्षतीपुर्ती रकम प्राप्त गर्ने प्रक्रियामा सहजिकरण गरिदिन, नेपाली कैदीबन्दीको आममाफी तथा रिहाई लगाएत खेलकुद र विविध गतिविधिहरूमा सहभागिताको अवसरको लागि अनुरोध गरेको छ ।
एनसिसि कतारले राखेको विषयमा मन्त्रालयको तर्फबाट सकारात्मक रहेको प्रतिक्रिया प्राप्त भएको छ । साथै सो क्रममा बिगतमा भन्दा अहिले नेपाली समाजमा पनि विभिन्न प्रकारका बिकृती देखा पर्न थालेको जसका कारण कतारको संस्कृतिमा आँच आउने गतिविधि समेत हुन थालेकोमा कतार सरकारको ध्यानाकर्षण भएको हुँदा कतारमा अवस्थित सम्पूर्ण संघ संस्थाले सचेतनामुलक कार्यक्रम गरि नेपाली समाजलाई सुसूचित गर्न समेत सुझाब दिएका अध्यक्ष भट्टले बताउनुभयो । मन्त्रलाएको तर्फबाट नेपाली समुदायका कार्यक्रमहरु गर्दा कतार सरकारको अनुमतीमा मात्रै गर्न सचेत गराइएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस