२०८१ माघ १३ गते आइतवार | 2025 January 26th Sunday

रुस्तम तामाङले जिते चौथो एनआरएन आईडलको उपाधी

दोहा – चौथो एनआरएन आईडलको उपाधी रुस्तम तामाङले जितेका छन।

शुक्रबार भएको ग्राण्ड फिनालेमा गायन बिधाका तामाङले अरु प्रतिस्पर्धी लाई पछी पार्दै चौथो एनआरएन आईडलको उपाधी जितेका हुन।

तेस्तै नृत्यबाट निरु श्रेष्ठ पहिलो भएकी छन। अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेबाट गायन विधामा फर्स्ट रनरअप सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा फर्स्ट रनरअप हुन सफल भएका छन।

लोकप्रिय गायक रामकृष्ण ढकाल र डान्सर पूर्णिमा श्रेष्ठ अतिथि निर्णायक रहेको प्रतियोगिताका गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे भने उपविजेताले जनही ७५ हजार रुपैयाँ प्राप्त गरे ।

ग्राण्ड फिनालेमा नृत्य विधामा जुनमाया कुमाल, सरोज लामा, निरु श्रेष्ठ, झरना राई र सौजन चाहारले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । गायन विधामा दीपक कुमार घले, इसान रेग्मी, सुजन गुरुङ, मानसिंह परियार र रुस्तम तामाङले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व, नेपाली राजदुतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

तमु समाजकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी, बुद्धिजीवीहरु, कलाकार तथा पत्रकार लगायत सैयौको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकमा गायनतर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ, मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर साथै कमलमणि गुराराई, क्रान्ती सिङ,करिम बक्स मियाँ, बुधबल गुरुङ परिवेक्षक रहेको कार्यक्रमको एनसीसीका महासचिव रबिन मगरले औपचारिक र भानु शर्माले सांगीतिक कार्यक्रमलाई सहजीकरण गरेका थिए।

 

“नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा सहित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा  रामकृष्णले आफ्ना आधा दर्जन गीतहरु सुनाएका थिए। चर्चित डान्सर पूर्णिमा श्रेष्ठले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन्।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस