२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

कतारमा तीज पर्व: नेपाली एकता समाजले मनायो बृहत् तीज उत्सव

दोहा, कतार: नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा दोहामा बृहत् प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ। हरितालिका तीज पर्वको अवसरमा यहि २३ अगस्ट २०२४ मा सनैया फुलबारी रेस्टुरेन्टको सभाहलमा यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, अखिल नेपाल महिला संघकी अध्यक्ष तथा पूर्व सांसद मिना पुनले कतारमा आएर पनि महान चाड तीज दिदीबहिनीहरूसँग मनाउन पाउँदा खुशी व्यक्त गरिन्। पुनले कार्यक्रमको क्रममा “राष्ट्रिय गान” नबजाइएको विषयमा बोल्दै आफ्नो पार्टीले “राष्ट्रिय गान” केवल सरकारी कार्यालय तथा कार्यक्रममा मात्र बजाउने स्पष्ट पारिन्। उनले राष्ट्रिय गान राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत भएकोले पार्टीगत कार्यक्रममा नबजाउने धारणा राखिन्।

पुनले तीज पर्व पहिले केही निश्चित समुदाय र व्यक्तिहरूले मात्र मनाउँदै आए पनि अहिले नेपालमा बसोबास गर्ने सबै जाति समुदायसहित बिश्वभर रहेका नेपालीहरूले तीज मनाउन थालेको बताइन्। उनले तीज गीतलाई माध्यम बनाएर विभिन्न राजनीतिक पार्टीहरूले महिलाहरूलाई जागरूक बनाउँदै, लोकतन्त्रको स्थापना, विकृति र विसंगति विरुद्ध लड्न, महिला सशक्तीकरण तथा हक अधिकारको निम्ति तीज पर्वले ठूलो भूमिका खेलेको बताइन्। तर, केही समयदेखि तीज पर्वले विकृति र विसंगति फैलाएको भन्दै गरिब र धनी महिलाहरूबीचको खाडललाई पूर्ति गर्न आवश्यक रहेको औंल्याइन्।

May be an image of 4 people, dais and text

कतार समृद्धि र विकासमा धेरै अगाडि रहेको र यहाँका धेरै नेपाली श्रमिकहरूले रोजगारको अवसर प्राप्त गरिरहेको उल्लेख गर्दै पुनले वैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले नेपाललाई धानिरहेको बताइन्। देशको परिवर्तनको आधार हामीसँग भए पनि अस्थिर राजनीतिक कारणले देशको विकास गर्न गाह्रो भएको उनको भनाइ थियो।

समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा दिने पार्टीहरूले नै देश चलाए पनि, देशलाई समृद्ध बनाउनभन्दा सत्तामा रहनेतर्फ मात्र ध्यान दिएको आरोप पुनले लगाइन्। पूर्व सांसद पुनले देशका गाउँगाउँमा पर्यटन, जलविद्युत्, कृषि लगायतबाट आयस्रोतको सम्भावना भए पनि सरकारले उचित ध्यान नदिँदा देशले फड्को मार्न नसकेको बताइन्।

May be an image of 11 people, flute, dais and text

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले संस्थाले गर्ने कार्यक्रम नाचगान र मनोरञ्जनमात्र नभई नेपाली श्रमिक तथा मजदुर वर्गको हक अधिकारका निम्ति कार्य योजना बनाइरहेको बताए। महिला सशक्तीकरण र विभेद विरुद्ध महिला एकताले प्रदेशमा विभिन्न किसिमका ठगी र प्रलोभनबाट बचाउन सकिने उल्लेख गर्दै उनले तीज पर्वको शुभकामना व्यक्त गरे।

कार्यक्रममा एनआरएनए कतार, विभिन्न जिल्ला, प्रदेश, वैचारिक संघ-संस्था, र पत्रकार महासंघका प्रतिनिधिहरूले तीज पर्वको शुभकामना मन्तव्य दिए। कार्यक्रममा समाजमा प्रवेश गर्नेलाई सदस्यता वितरण पनि गरिएको थियो।

रक्तिम साँस्कृतिक परिवार कतारका कलाकारहरू खगेस्वर भुसाल, बिमल भुसाल, हिरा शर्मा, श्रवण मल्ल, कुमारी काउछा, बलदेव राना, दिल बहादुर बि.क. शान्ति राना सुनिल बरायली र बाबुराम पौडेलले नेपाली मौलिक तीज गीतमा आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमको प्रारम्भमा समाजकी महिला विभाग प्रमुख जानुका बस्नेतले स्वागत मन्तव्य दिएकी थिइन्। महासचिव मिनराज पुनले सहजीकरण गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राम प्रसाद पराजुलीले नेपाली मजदुरको हकहितको पक्षमा समाज सधैं लडिरहेको बताए। पराजुलीले पासपोर्ट बनाउनको लागि केही दलालहरूले ४-५ सय कतारी रियल लिने गरेको सुचना प्राप्त भएको बताउँदै त्यस्ता व्यक्तिलाई चिनेको भए खबर गर्न आग्रह गरे। समाजका कुनै पनि व्यक्ति भए तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिँदै उनले कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरे।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस