
दोहा । मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको दोस्रो संस्करणको यसपालि कतारमा पनि अडिसन हुने भएको छ।
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन बारे कतारका कार्यक्रम संयोजक लोक दोहोरी प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिव राम ढकाल तथा प्रविधि तथा सूचना सम्प्रेषणको क्षेत्रमा कार्यरत तिलु शर्माले जानकारी दिएका थिए।
सबैभन्दा धेरै पुरस्कार धनराशि भएको रियालिटी शोको अडिसन कतारमा फेब्रुअरी २१ का दिन सनैयास्थित डल्ला ड्राइभिङ एकेडेमीको हलमा हुने छ । अडिसनका लागि जजको भूमिकामा रहेका कलाकार तथा नृत्य निर्देशक शंकर बिसी र गायक डम्बर नेपाली आउने भएका छन् ।
मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स रियालिटी शो गुमनाम रहेका उत्कृष्ट प्रतिभाका लागि सुवर्ण अवसर हुनेछ। इन्ट्रा- फाउन्डेसनले आफूमा प्रतिभा भएर पनि विभिन्न कारणबस वैदेशिक रोजगारीको यात्रा तय गरेका प्रतिभावान नेपाली मुलका नेपाली जाति र भाषीलाई समेट्ने उद्देश्यका साथ प्रतिभावान कलाकारहरूलाई अवसर दिँदै दिएको छ ।
दुवै शोका अडिसनमा छानिएका टप फाइभ प्रतिनिधि नेपाल भ्रमणको यात्रा तय गर्नेछन्। भ्वाइस युनिभर्स तथा मेरो डान्स युनिभर्समा छनौट भएका सहभागीको नेपाल जाने हवाई खर्च सहित नेपालमा प्रतियोगिता अवधिभर लाग्ने सबै खर्च समेत आयोजकले नै व्यहोर्ने छ ।
इन्ट्रा- नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुने अडिसन कतार लगायत ११ वटा विभिन्न मुलुकहरू अमेरिका क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, थाइल्यान्ड, अस्ट्रेलिया, भारतमा हुँदैछ।अमेरिकाबाट सुरु हुने अडिसन नेपालको पोखरा, नेपालगन्ज, दमक र काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । शोमा सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट www.intrafoundations.org बाट आवेदन दिन सक्ने छन् ।
कार्यक्रमको जानकारी दिनका लागि गरिएको मिट एण्ड ग्रिड कार्यक्रममा इन्ट्रा- नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनका एजुकेटिभ डाइरेक्टरले चुडामणि भट्टराईले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। उनले यस रियालिटी शोको अभियानबाट विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रुपमा जोड्ने आशय व्यक्त गरे । नेपाली कला, संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली जातिका प्रतिभाहरुलाई जहां बसे पनि नेपाली कला संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने भावनाले “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स” आयोजना गरिएको बताए । शोमा भाग लिन प्रतिस्पर्धी व्यक्तिको पहिचान नेपाली नै हुन पर्ने पनि उनले प्रष्ट पारेका थिए । दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैया र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।
मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज) को भूमिकामा रहने छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजहरुमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा हुनेछन् ।
भ्वाइस युनिभर्सको सिजन २ लाई विशाल भण्डारीले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ को निर्देशन मौसमी गुरुङले गर्ने भएकी छन् । रियालिटी शोहरुका लागि कार्यक्रम प्रस्तोताहरु रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल र नम्रता श्रेष्ठ रहेकाछन् ।
इन्ट्रा- नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनका एजुकेटिभ डाइरेक्टर चुडामणि भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थि प्रमुख अतिथि रहेका थिए । सम्पूर्ण कतारमा स्थापित संघ संस्थाका प्रमुख सामाजिक अभियान्ता तथा पत्रकारहरु उपस्थित रहेको कार्यकमको सञ्चालन शिवराम ढकालले गरेका थिए ।