
दोहा, कतार – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको १२औं साधारण सभाले बाबुराम भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। सनैयास्थित फूलबारी रेस्टुरेन्टमा सम्पन्न सभाबाट ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष देवीदत्त कँडेल, प्रथम उपाध्यक्ष पदम पुन, उपाध्यक्ष रुकुम श्रीपाली, महासचिव कृष्ण खड्का, सचिवद्वय नरेन्द्र कुमार दर्जी र प्रेमबहादुर गर्बुजा, कोषाध्यक्ष नवराज रिजाल, सहकोषाध्यक्ष मोना नेपाली चयन भएका छन्। साथै, विभिन्न गाउँपालिका संयोजक, महिला संयोजक, वरिष्ठ सदस्य तथा कार्यकारिणी सदस्यहरू समेत सर्वसम्मत चयन भएका छन्।
कार्यक्रमको उद्घाटन मोना कतारका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा तथा प्रमुख अतिथि प्रकाश पुनको उपस्थितिमा सम्पन्न भएको थियो। प्रमुख अतिथि पुनले मोनाको योगदानको प्रशंसा गर्दै म्याग्दी डेभलपमेन्ट ट्रष्टमार्फत आर्थिक संकलन गरी जिल्लाको विकासमा लगानी गर्न सकिने धारणा राखे।
साधारण सभामा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले म्याग्दीमा अन्तर्राष्ट्रियस्तरको भलिबल कबर्ड हल निर्माण अभियानका लागि कतारबाट सहयोगको अपेक्षा व्यक्त गरे। साथै, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, मोना कतारका संरक्षक रमेश पौडेल, प्रेम रसाइलीलगायतले मोनाले सामाजिक तथा मानवीय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा प्रवासमा रहेका नेपालीहरूका लागि आवश्यक पर्ने बैंकिङ प्रणाली, डिम्याट खाता, आईपीओ, श्रम नवीकरण, सामाजिक सुरक्षा कोषलगायतका विषयमा समेत जानकारी दिइयो।
पञ्चेबाजा समूहको बाजागाजासहित नाचगान तथा कतारमा रहेका कलाकारहरूको प्रस्तुति समेत कार्यक्रमका आकर्षण बने। अन्त्यमा नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक विक्रम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराका थिए।