
दोहा, कतार – स्याङ्जा सहयोग समाज कतारद्वारा इफ्तार कार्यक्रम सम्पन्न भएको छ l स्याङ्जा सहयोग समाज कतार र भिरकोट नगर इकाई कतारको संयुक्त आयोजनामा इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको पावन अवसरमा इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष घनश्याम जैसीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिको रूपमा स्याङ्जा सहयोग समाज कतारका प्रमुख संरक्षक गुरु नारायण रानाभाट उपस्थित थिए।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाईका अध्यक्ष लिल रोका, विशेष अतिथिहरू हसन अलि अफतरी, नाजिर मिया (मौलाना), गुलाम नवि (मौलाना), अक्रम रजा, मुनाफ मिया लगायत स्याङ्जा सहयोग समाजका संरक्षकहरू, सल्लाहकारहरू, कार्यसमितिका सदस्यहरू र स्याङ्जावासी मुस्लिम धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो।
मुन्ताजामा रहेको गोर्खाली होटलमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन स्याङ्जा सहयोग समाज कतारका सचिव सागर नेपाली र भिरकोट नगर इकाईका महासचिब बिबेक अर्यालले गरेका थिए भने स्वागत मन्तव्य समाज कतारका वरिष्ठ उपाध्यक्ष शिव ढकालले राखेका थिए।
कार्यक्रममा मौलानाहरूले रमजान महिनाको महत्व, रोजा बस्नुको वैज्ञानिक फाइदाहरू बारे विस्तृत रूपमा बताएका थिए। उनीहरूले रोजा बस्नु भनेको केवल उपासना मात्र नभएर वैज्ञानिक रूपमा स्वास्थ्यको लागि पनि त्यति नै फाइदाजनक रहेको बताए। साथै, रोजाको समयमा नराम्रो नबोल्नु, कसैसँग नराम्रो व्यवहार नगर्नु र मनमा पाप नचिताउनु जस्ता नैतिक मूल्यहरूको पनि पालना गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि गुरु नारायण रानाभाट र सभापति घनश्याम जैसीले निमन्त्रणा स्वीकारेर कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए। उनीहरूले यस्ता कार्यक्रमले आपसी सद्भाव र भाइचाराको भावनालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारका विभिन्न इकाईका प्रमुख तथा प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।