२०८२ कार्तिक २ गते शनिवार | 2025 October 18th Saturday

नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशन, कृति विमोचन, अवार्ड वितरण र १६० औँ वाचन डबली भव्य रूपमा सम्पन्न

दोहा, कतार – नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो सत्रौँ अधिवेशन, नवोदित कृति अवार्ड वितरण, कृति विमोचन र अनेसास नवोदितको १६० औँ वाचन डबली कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम वाचनालयका निवर्तमान अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षतामा र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अनेसास कतार च्याप्टरका कार्यवाहक अध्यक्ष दिलीप पराजुलीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको उक्त कार्यक्रममा कोषाध्यक्ष सुजाता डिसीले स्वागत मन्तव्य राखेकी थिइन्।

अधिवेशनमार्फत शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ। नवोदित साहित्यिक वाचनालय कतारको नयाँ अध्यक्षमा चयन भएका शोभाराम ओलीले आफ्नो नेतृत्वमा साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। समितिको प्रथम उपाध्यक्षमा शिव सुवेदी, द्वितीय उपाध्यक्षमा पूर्ण कान्छा गुरुङ, पुस्तकालय संयोजकमा गोविन्द उदासी, महासचिवमा खिम पुन, सचिवमा सुजाता डिसी, कोषाध्यक्षमा रफि मियाँ र सहकोषाध्यक्षमा शान्ता थपलिया चयन भएका छन्। कार्यसमितिका सदस्यहरूमा प्रदीप दाहाल, गणेश बस्याल, राम प्रसाद लुइँटेल र किरण ढकाल रहेका छन्। नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक दिल कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शोभाराम ओलीको नवकृति अटेलिस् जोइको विमोचन गरिएको छ। नवोदित साहित्यिक वाचनालयले कतारमा बस्दा वा कतार छाडेर गएपछि लेखिएका नेपाली भाषाका स्रष्टाहरूको कृतिलाई ‘नवोदित कृति अवार्ड’ प्रदान गर्दै हौसला बढाउँदै आएको छ। आठौँ संस्करणअन्तर्गत ‘नवोदित कृति अवार्ड–२०८२’ मा दर्ता भएका कृतिहरूमध्येबाटम प्रसाद भट्टराईको  गीति संग्रह अरबले उक्त अवार्ड जितेको छ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती समेत मनाइएको थियो। साहित्यकार श्यामराज रानाभाट र सिताराम थापाले आफ्ना रचना वाचन गरेका थिए। स्रष्टा सम्मानअन्तर्गत नवोदितका प्रमुख सल्लाहकार नारायण भण्डारीलाई सम्मान गरिएको थियो। साथै, वाचनालयले पहिलो पटक नवोदितका आजीवन सदस्य समेत रहेका मध्यान्हकर्मी पत्रकार तिलु शर्मा पौडेललाई पत्रकारका रूपमा सम्मान गरेको छ। विशेष रचना वाचन गर्ने साहित्यकारद्वयलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०८२ साउन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस