
कतार, सेप्टेम्बर १९ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको ११औं अधिवेशनले दिलीप पराजुलीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनकै अवसरमा गजलकार सानु थपलियाको गजल संग्रह “मकरन्द”, डा. नवराज लम्सालको कृति “कल्प” र प्रभु प्रसाद पराजुलीको पुस्तक “सामाजिक कहानी : पीडा भित्रको व्यथा” को विमोचन पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष यदव रेग्मीले गरेका थिए भने सञ्चालन महासचिव दिलीप पराजुलीले गरेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिलकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार, गजलकार तथा दर्जनौं साहित्य प्रेमीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
सोही अवसरमा अनेसास नवोदित साहित्यिक वाचनालय कतारको १६२ औं डबली तथा १६० औं मोती जयन्ती समारोह पनि सम्पन्न भएको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष मणि पौडेललाई अनेसास कतार च्याप्टरद्वारा विशेष सम्मान गरिएको थियो ।
गजल सत्रमा शिव सुवेदी, निर्दोष बस्याल, प्रदीप दाहाल, पूर्ण कान्छा गुरुङ, चक्र कार्की, सिताराम थापा, रफि मियाँ, प्रेम प्रसाद भट्टराईलगायतका गजलकारहरूले रचनापाठ गरी हललाई गजलमय बनाएका थिए ।
अधिवेशनले सर्वसम्मत निर्णयमार्फत् नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । पदाधिकारी यसप्रकार छन् :
-
अध्यक्ष : दिलीप पराजुली
-
प्रथम उपाध्यक्ष : खेमराज सुवेदी
-
द्वितीय उपाध्यक्ष : चक्र कार्की
-
महासचिव : लीलानाथ कश्यप
-
सचिव : सानु थपलिया
-
कोषाध्यक्ष : नारायण निरजल
-
सह–कोषाध्यक्ष : गोविन्द उदासी
-
सदस्य : शिव सुवेदी, रफी मियाँ, सुजाता डी.सी., चन्द्रशेखर दाहाल, प्रदीप दाहाल
नेपालबाट आमन्त्रित साहित्यकार डा. नवराज लम्सालले कतारमा नेपाली साहित्यले छोटो अवधिमै उल्लेख्य प्रगति गरेको भन्दै साहित्यकारहरूको निरन्तर सक्रियता प्रशंसनीय रहेको टिप्पणी गरे ।
कार्यक्रमकै क्रममा उपस्थित लेखक तथा साहित्यप्रेमीहरूलाई लक्षित गरी छोटो साहित्यिक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा नयाँ पुस्तालाई साहित्य लेखनका आधारभूत पक्षहरूबारे जानकारी दिइएको थियो ।
कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण अतिथि, सल्लाहकार, सदस्य तथा साहित्यिक समुदायप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ सबल, साहित्यप्रति जिम्मेवार र सक्रिय बनाउने संकल्प व्यक्त गरेको छ ।