२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

जेनजी आन्दोलनले सिर्जित अवस्था: नेपाली काँग्रेसको पुष्तान्तरण जडैबाट आवस्यक छ

दोहा।  जेन-जी समूहको असंगठित विग्रहपछी मुलुक राजनीतिक अस्थिरताको नयाँ चरणमा प्रवेश गरेको छ। सधैं सत्ताको वरिपरि रहेका र सत्तासीन लालसाले ग्रसित प्रमुख भनिएका दलहरू भित्र–बाहिर दुबै तहमा क्षतविक्षत अवस्थामा पुगेका छन्। यसै क्रममा, लामो संघर्षपछि प्रजातान्त्रिक प्रणाली स्थापना गरेको र बहूलवादमा आधारित लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल विचारधारा मानेको नेपाली काँग्रेस आज इतिहासकै कमजोर अवस्थामा उभिन पुगेको छ।

देश अहिले विकास, सुशासन र राजनीतिक स्थायित्वभन्दा पनि विगतका त्रुटि र असफलताबाट पुनः खरानीबाट उठ्ने प्रक्रियामा छ। यति गम्भीर मोडमा उभिँदा यहाँ काँग्रेसलाई मात्र होइन, सम्पूर्ण राजनीतिक व्यवस्थालाई नै रुपान्तरण र पुस्तान्तरणको आवश्यकता तीव्र रूपमा महसुस भएको छ। तर यो पहल केवल केन्द्रीय नेतृत्वमा सीमित भएर सम्भव छैन; प्रदेश, स्थानीय तह र समाजका विभिन्न तहसम्म समानान्तर रूपमा बिस्तार हुनुपर्ने अवस्था छ।

नेपाली काँग्रेस अहिले आन्तरिक रुपान्तरण र नेतृत्वको संक्रमणकालीन अवस्थामा छ। पार्टीको केन्द्रीय राजनीतिमा पुराना पुस्ताका नेताहरू अझै पनि आफ्नो वर्चस्व कायम राख्न खोजिरहेका छन्, जसले गर्दा पार्टीलाई नयाँ पुस्ताको सोच र ऊर्जाबाट लाभ लिन कठिन भएको छ। तर, ढिलोचाँडो तेस्रो पुस्ताका नेताहरू विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल जस्ता युवाहरूले देउवा–राणा शैलीको ‘जकड’लाई तोडेर पार्टीलाई आधुनिक, पारदर्शी र निष्ठापूर्ण बाटोमा लैजाने अठोट लिएको पाइन्छ, तर त्यसले कत्तिको सार्थक मोड लेला वा अबको केहिदिनमा उनीहरुको बाटो पुरातनी बन्छ वा कुनै गतिशील मार्ग अवलम्बन हुन्छ, त्यो हेर्न बाँकी छ।

यस्तै अवस्थाको समानान्तर चुनौती प्रवासी क्षेत्रमा पनि देखिएको छ। विशेषगरी खाडी मुलुकहरूमा फैलिएको काँग्रेस संगठनमा व्यक्तिगत स्वार्थ, गुटगत राजनीति र चाकरीवादले संगठनलाई कमजोर बनाएको छ। कतारलाई नै उदाहरणका रुपमा लिन सकिन्छ, जहाँ काँग्रेसको नाममा केही व्यक्तिहरू “भाट भर्सेज सुवेदी वादको” व्यक्ति केन्द्रीत स्वार्थमा संगठनलाई काबुमा राख्दै आई रहेका छन्, निजी स्वार्थको लागि उनीहरुले रजगज चलाइरहेका छन्। यसले वास्तविक निष्ठाप्रेमी कार्यकर्ताहरूको योगदान ओझेलमा परेको छ र पार्टीप्रति विश्वास गर्ने आम सदस्य निराश हुने अवस्थामा पुगेका छन्।

अब समय आएको छ, जसरी केन्द्रमा तेस्रो पुस्ताले पार्टीलाई शुद्धिकरण गर्ने लय समातिरहेका छन्, त्यसरी नै प्रवासी क्षेत्रका कार्यकर्ताहरूले पनि निष्ठा, प्रतिबद्धता र पारदर्शीतालाई केन्द्रमा राखेर संगठनलाई स्वच्छ बनाउनुपर्छ। व्यक्तिगत स्वार्थ र गुटगत तिकडमभन्दा माथि उठेर “शुद्ध निष्ठाप्रेमयुक्त काँग्रेस” बनाउन प्रवासी कार्यकर्ताहरू अग्रसर हुन जरुरी छ।

प्रवासी काँग्रेस केवल प्रवासी नेपालीको सामाजिक र राजनीतिक अभिव्यक्ति मात्र होइन, मूल रुपमा देशमा हुने राजनीतिक आन्दोलन र विचारधारामा पनि यसको प्रत्यक्ष असर पर्छ। त्यसैले कतारसहित खाडी मुलुकहरूमा काँग्रेसको संगठनलाई नवनिर्माण गर्ने अभियान सुरु गर्नु, संगठनलाई सच्चा लोकतान्त्रिक अभ्यासको नमुना बनाउनु अहिलेको अपरिहार्य जिम्मेवारी बनेको छ।

अब प्रश्न उठ्छ, के कतार र मध्यपूर्वमा त्यस्ता युवाहरू छन्, जसले काँग्रेसको जडशुत्रीयताको अन्त्य गरेर नयाँ रुपान्तरणको ढोका खोल्न सकून्?

यस प्रश्नको उत्तर खोज्नु नै अहिलेको चुनौती हो। निष्ठापूर्वक पार्टीप्रति समर्पित, पारदर्शिता र जवाफदेहितामा विश्वास गर्ने प्रवासी युवाहरूले संगठनलाई सैद्धान्तिक दिशामा लैजान जिम्मेवार आवाज वुलन्द गर्न र ‘आवस्यकताको सिद्धान्त’ अनुसार नेतृत्वमा आउन सक्नुपर्छ। यदि यस्ता व्यक्तिहरूले काँग्रेसलाई प्रवासी क्षेत्रमा नयाँ सोचसहित अघि बढाउन सके भने मात्र शुद्ध निष्ठाप्रेमयुक्त काँग्रेस निर्माण हुने छ।

त्यसैले, जसरी केन्द्रीय नेतृत्वमा नयाँ पुस्ता उदाउनु पर्ने मत मजबुत बन्दैछ, त्यसैगरी प्रवास क्षेत्रमा पनि नयाँ पुस्ताको उदय अनिवार्य छ। प्रवासमा रहेका काँग्रेस संगठनहरुले राजनीतिक हैसियतभन्दा बढी, नेपाली श्रमिकको सम्मान, अधिकार र देशप्रेमलाई केन्द्रमा राखेर आफ्नो अभियान चलाउन सके मात्रै काँग्रेसको व्यापक रुपान्तरण संभव हुन्छ।

 

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस