२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

जेन-जी अभियन्ता माजिद अन्सारीलाई धम्की : लोकतन्त्रको मूल्य र बहुलवादमाथि प्रश्न

नेपालको राजनीतिक इतिहास बहुलवाद, विविधता र सहअस्तित्वको आधारमा निर्मित छ। यो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक संरचनाले बनेको छ, जहाँ मुस्लिम समुदाय पनि सशक्त पहिचानसहितको हिस्सेदार हो। तर विडम्बना के छ भने जब जब मुस्लिम समुदायका नेता वा अभियन्ताहरु देखिनेगरी देश र राजनीतिमा आवाज उठाउँछन्, उनीहरूमाथि प्रश्न, आरोप, धम्की र आक्रमण बढ्दै जाने परम्परा जस्तै बनेको छ।

हालै जेन–जी आन्दोलनको अग्रभागमा उभिएर आफ्नो विचार राख्दै आएका अभियन्ता तथा सुशासन र संवैधानिक व्यवस्थाका प्रखर चिन्तक  माजिद अन्सारीलाई दिइएको धम्की यसैको ताजा उदाहरण हो। संविधानको संरक्षण, लोकतन्त्रको सुदृढीकरण र समाजमा समान सहभागिताको वकालत गर्ने कार्य कुनै पनि नागरिकको नैसर्गिक अधिकार हो। तर जब मुस्लिम समुदायका व्यक्तिहरूले यो अधिकार प्रयोग गर्छन्, उनीहरूलाई ‘विदेशी तत्वको एजेन्ट’, ‘आयातीत नेपाली ’ वा ‘सफाया गर्नुपर्ने’ जस्ता आरोपसहित दमन गर्ने मानसिकता अझै पनि जीवित छ भन्ने कुराले गम्भीर चिन्ता बढाएको छ।

ऐतिहासिक योगदान ओझेलमा:

नेपाल एकीकरणदेखि लिएर लोकतान्त्रिक आन्दोलनसम्म मुस्लिम समुदायले खेलेको योगदानको चर्चा प्रायः इतिहासमा ओझेल पारिएको छ। वीरगति प्राप्त गर्ने, लोकतान्त्रिक आन्दोलनमा सहकार्य गर्ने वा राज्य निर्माणमा आहुति दिने मुस्लिम अभियन्ताहरुको भूमिका स्मरण नगर्ने प्रवृत्तिले समुदायलाई राजनीतिक मूलधारबाट टाढा पार्ने काम मात्रै गरेको छैन, राष्ट्रिय सहअस्तित्वकै अवधारणामाथि प्रश्न खडा गरेको छ। जेन-जी आन्दोलनको क्रममा नेपाली मुस्लिम युवाहरुले समेत सहादत प्राप्त गरेका छन् भने उल्लेख मात्रामा घाईते भएका छन् भन्ने कुरा यति चाँडै बिर्सन पाईंदैन।

प्रश्न उठ्छ— आखिर किन मुस्लिम अभियन्ताहरुले जब जब स्पष्ट राजनीतिक र संवैधानिक एजेन्डा बोकेर अघि बढ्छन्, उनीहरूलाई खतराको रूपमा चित्रण गरिन्छ? यसको मूल कारण ऐतिहासिक पूर्वाग्रह, संकीर्ण राष्ट्रवाद र साम्प्रदायिक सोच हो। यस्ता मानसिकताले समाजलाई मात्र विभाजित गर्दैन, लोकतन्त्रलाई पनि कमजोर बनाउँछ।

नेपाल बहुलवादी राष्ट्र हो भन्ने कुरा संविधानले नै स्पष्ट गरेको छ। तर व्यवहारमा कुनै पनि समुदायलाई राजनीतिको मैदानबाट धकेल्ने वा धम्की र दमनद्वारा मौन बनाउने प्रवृत्ति देखिनु लोकतन्त्रको आत्मामाथि प्रहार हो। यदि मुस्लिम अभियन्ताहरूलाई समाज र राजनीतिबाट बाहिर धकेल्ने प्रयास निरन्तर जारी रह्यो भने, यसले केवल मुस्लिम समुदायलाई मात्र होइन, सम्पूर्ण नेपालको लोकतान्त्रिक यात्रालाई नै कमजोर बनाउने छ।

माजिद अन्सारी पछिल्लो पटक यस्तै प्रवित्तीको सिकार बनेका छन्, तर यो केवल उनको व्यक्तिगत पीडा मात्र होइन— नेपालमा मुस्लिम समुदायले विगतदेखि भोग्दै आएको राजनीतिक अन्यायको निरन्तरता हो। यो अवस्थाले स्पष्ट रूपमा देखाउँछ कि नेपालमा अझै पनि सम्पूर्ण नागरिकलाई समान अवसर र समान सहभागिता दिने संस्कार बलियो भएको छैन।

यसकारण, राज्य, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण सचेत वर्गले मुस्लिम समुदायलाई देशको अविभाज्य हिस्साको रूपमा स्वीकार गर्दै, उनीहरूको आवाजलाई सम्मानपूर्वक सुन्ने र सहभागी गराउने वातावरण बनाउनै पर्छ। किनकि कुनै पनि समुदायलाई पन्छ्याएर होइन, समेटेर मात्र नेपालजस्तो बहुलवादी राष्ट्रले स्थायी लोकतन्त्र र निरपेक्ष सुशासनको दिशा पक्रन सक्छ।

 

 

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस