२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

देशको खरानीलाई मल बनाएर फेरि हराभरा बनाऔं।

दोहा । हालको राजनीतिक अस्थिरता र समाजमा फैलिँदै गएको असन्तुष्टिको पृष्ठभूमिमा, कतारमा लामो समयदेखि बस्दै आएका सागर नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा गहिरो र भावनात्मक टिप्पणी गरेका छन्।
उनले लेखेका छन् “एक–एक गरेर सक्किनेछन्, राम्रा–नराम्रा सबै नेताहरू र पार्टीहरू। अहिलेको अवस्थाले सम्पूर्ण राजनीतिक नेतृत्व नै घृणित भइसकेको छ। तर समस्या नेताभन्दा पनि उनीहरूको बदलाभावको मानसिकता हो।”
राजनीतिक प्रतिशोध र स्वार्थप्रति कडा आलोचना गर्दै उनले पछिल्ला घटनालाई “आगो ओकल्ने नेतृत्वको परिणाम” का रूपमा चित्रित गरेका छन्। उनले लेखेका छन् “सबैको घर जलेको छ, तर कसैले बुझ्दैनन्। देश जलेको बेला नेताहरूले पहिले आफ्नै मनको आगो निभाउनुपर्छ, तर उनीहरू बदलाको तयारीमा लागेका छन्।”
हालैको जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमप्रति संकेत गर्दै सागरले भनेका छन् “जेन–जी पुस्तामा सजिलै विभाजन गर्न सकिन्छ कि भनेर माहिर अग्रजहरू लागि रहेका छन्। जसले प्रतिरोध गर्छ, उसमाथि हमला हुन्छ — सुदन गुरुङको गाडीमा भएको आक्रमण र बालेनको घरमाथिको भीड त्यसैको संकेत हो।” उनका अनुसार, यस्तो प्रतिशोधात्मक प्रवृत्तिले बदला त पूरा गर्न सक्छ, तर देशलाई अझ ठूलो दुर्घटनातिर धकेल्ने खतरा बढ्दै गएको छ।
स्वार्थ र बाह्य प्रभावप्रति चिन्ता व्यक्त गर्दै नेपालले आफ्नो पोस्टमा लेखेका छन् “हामी आफ्नै कारणले अन्तर्राष्ट्रिय स्वार्थहरूलाई नेपालमा खुट्टा टेक्न सजिलो बनाइरहेका छौं। देश अनिश्चितकालका लागि अशान्ति र बर्चस्वको भुमरीमा फस्ने खतरा बढ्दै गएको छ।” देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थको खेल मैदान बन्नबाट जोगाउन उनले सबैलाई इगो, स्वार्थ र बदलाको भावना त्याग्न आह्वान गरेका छन्।
“हामी नेपाली जिउँदो फर्किनेहरूलाई मात्र होइन, मरेका लासलाई पनि देश चाहिन्छ। त्यसैले यो खरानीलाई मल बनाएर फेरि उर्वर, हराभरा बनाउने कर्तव्य हाम्रो हो।”
विदेशमा रहेका नेपालीहरू खासगरी ‘एनआरएन’ लाई समेत उनले मुखको एकता होइन, मन र व्यवहारको एकता गर्न आग्रह गरेका छन्।
तीन दशकदेखि कतारमा बस्दै आएका सागर नेपाल सामाजिक अभियन्ता समेत हुन्। उनी विभिन्न सामाजिक विषयमा सक्रिय रहँदै आएका छन् र सामाजिक सञ्जालमार्फत समय–समयमा विचार साझा गर्ने गर्छन्।
(सागर नेपालको फेसबुक वालबाट भावानुवादित)

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस