२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

जेन–जी आन्दोलनको प्रभाव : राहदानी छपाईमा ढिलाई, दोहामा राहदानी वितरण रोकियो।

दोहा । नेपाली राजदूतावास, दोहाले प्राविधिक कारण देखाउँदै नयाँ राहदानी (पासपोर्ट) वितरण अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ।

राजदूतावासले जारी गरेको जरुरी सूचनामा भनिएको छ, “प्राविधिक कारणले राहदानी छपाइको कार्यमा ढिलाइ भएकाले राहदानीहरू यस राजदूतावासमा आइपुग्न नसकेको हुँदा नयाँ राहदानी/राहदानी नवीकरणका लागि आवेदन दिनुभएका सेवाग्राहीहरूले नेपाली राजदूतावास, दोहाको वेबसाइट वा फेसबुक पेजमा राहदानी वितरण सम्बन्धी सूचना प्रकाशित भएपछि मात्र राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको” जनाएको छ।

यद्यपि राजदूतावासले यो समस्या प्राविधिक कारण भन्दै औपचारिक रूपमा व्याख्या गरेको भए पनि हालै नेपालमा भएको जेन–जी आन्दोलनका क्रममा सरकारी भवनहरूमा भएको आगजनी, तोडफोड र कागजात व्यवस्थापन प्रणालीमा आएको क्षतिको असरले राहदानी छपाइ प्रभावित भएको बुझिन्छ।

काठमाडौँस्थित राहदानी विभागको भवन तथा उपकरणमा भएको क्षतिले छपाइ कार्यमा ल्याएको समस्या र त्यसको प्रत्यक्ष असर विदेशस्थित दूतावासहरूमा परेको अनुमान गर्न सकिन्छ।

यो ढिलाइका कारण खाडी मुलुकमा रहेका लाखौं नेपाली श्रमिकहरूको रोजगार प्रभावित हुने सम्भावना छ। कतिपयको राहदानी म्याद सकिँदै छ भने केहीको भिसा नवीकरण र रोजगारी सम्झौता रोकिन सक्ने सम्भावना छ। नयाँ राहदानी नआउँदा उनीहरूको रोजगार, आय र भविष्यमा समेत गम्भीर असर पर्न सक्ने सहजै मूल्याङ्कन गर्न गाह्रो छैन ।

देशमा भएका हिंसात्मक आन्दोलनले विदेशमा श्रम गरेर देश चलाउने वर्गकै लागि यस्तो अवरोधले प्रशासनिक कमजोरी र आन्तरिक राजनीतिक अस्थिरताको वास्तविक मूल्य चुकाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले राहदानी छपाईमा आएको समस्यालाई तत्काल समाधानको पहल गर्नु आवस्यक देखिन्छ।

 

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस