२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

“परदेशमा पसिना बगाउने महिलामाथि प्रश्न होइन, प्रेरणा खोजौं”

करिम बकस मियाँ

खाडी मुलुकहरू — विशेषगरी कतार, साउदी अरब, युएई, ओमन, कुवेत र बहराइन — आज लाखौं नेपाली श्रमिकहरूले पसिना बगाउँदै आएका भूमिहरू हुन्। तीमध्ये कतारमा मात्रै करिब ४ लाख नेपाली कार्यरत छन्, जसमा २० प्रतिशतको हाराहारीमा महिला कामदार छन्।

यी महिलाहरू होटल, रेस्टुरेन्ट, सरसफाइ, सेल्स, कार्यालयजस्ता क्षेत्रमा काम गर्दै आफ्नो र परिवारको जीवन बदल्ने संघर्षमा छन्। केहिले व्यवसाय सञ्चालन गरेका छन्, कतिपय व्यवस्थापन तहमा पुग्न सफल भएका छन्, र सयौं महिलाहरू त परिवारसहित कतारमा स्थायी रूपमा बसोबास गरिरहेका छन्।

तर पछिल्ला अवधिहरूमा केही सार्वजनिक मञ्च र सामाजिक सञ्जालहरूमा यी महिलाहरूलाई लक्षित गर्दै “बिग्रिएका”, “असंयमी” र ” यौन दुराचार” जस्ता चरित्रहत्या गर्ने भाष्यहरू निर्माण हुन थालेका छन्। सार्वजनिक मञ्च विचार, चेतना र तथ्य प्रस्तुत गर्ने ठाउँ हो, तर त्यही स्थान आज कसैको निजी जीवनको मूल्याङ्कन गर्ने थलोमा परिणत हुँदै गएको छ।

यसले केवल महिलाको आत्म–सम्मानमा आघात पुर्‍याउँदैन, बरु परदेशमा पसिना बगाउने लाखौं नेपाली महिला कामदारहरूको प्रतिष्ठा माथि पनि चोट पुर्‍याउँछ।

कतारमा कार्यरत नेपाली महिला कामदारहरू अधिकांश कम्पनीको कानुनी नीतिभित्र काम गर्छन्। कतार सरकार र नेपाली दूतावासका तथ्यांकले देखाउँछन्—पुरुषहरुको तुलनामा भगौडा वा गैर–कानुनी, विभिन्न आपराधिक गतिविधिमा  संलग्न महिलाको संख्या अत्यन्त नगण्य जस्तै छ। यसले स्पष्ट देखाउँछ कि “परदेशमा महिला बिग्रिन्छन् वा बिग्रेका छन्” भन्ने धारणा तथ्यहीन, पक्षपातपूर्ण र अन्यायपूर्ण हो। अपवादलाई छोडेर बरु, उनीहरूले अनुशासन, संयम र जिम्मेवारीको उदाहरण प्रस्तुत गरिरहेका छन्।

हाम्रो समाजमा भनाइ छ —“चामल हुन्छ भने घुन पनि हुन्छ।” अर्थात्, जहाँ धेरै मानिस हुन्छन्, त्यहाँ अपवाद पनि हुन सक्छ। तर घुनका कारण सारा चामललाई दोष दिनु मूर्खता हो। कसैको व्यक्तिगत गल्तीलाई आधार बनाएर हजारौं इमानदार महिलामाथि प्रश्न उठाउनु न त न्यायोचित हो, न त मानवीयता।

कतारमा लाखौं नेपाली पुरुष पनि छन्। कतिपयले लिभ–इन, अन्तरदेशीय विवाह वा मनोरञ्जनात्मक सम्बन्धमा परेर विभिन्न समस्या भोगेका छन्। कति पुरुषहरु आपराधिक कारणले समस्यामा छन, तर यस्तो अवस्थामा हाम्रो समाजले पुरुषका गल्तीलाई “स्वाभाविक” ठान्छ वा त्यसलाई बहसको विषय नै मान्दैन। तर जब कुनै महिला कुनै अस्वभाविक अवस्थामा देखिन्छिन्, तुरुन्तै समाजले “चरित्रको प्रमाणपत्र” खोज्न थाल्छ। यो पुरुषप्रधान मानसिकता को प्रत्यक्ष उदाहरण हो, जहाँ पुरुषका निर्णय स्वतन्त्रता हुन् र महिलाका निर्णय नैतिक अपराध?

तर यो लेखको तर्क बिग्रनु सबैको  अधिकार हो भन्न खोजिएको होइन, गल्ती कसैको पनि होस्, मापन समान हुनुपर्छ।

सार्वजनिक मञ्चहरुमा बोलिने हरेक शब्दहरुले सन्देश बोक्दछ। त्यो सन्देशले धारणा बनाउँछ, र धारणाले नै दृष्टिकोण निर्माण गर्छ। त्यसैले, सञ्चारकर्मी, वक्ता वा सामाजिक अभियन्ताहरुले आफ्नो शब्दको जिम्मेवारी बोध गर्नैपर्छ। “ए; कतारमा काम गर्ने महिलाहरु त खत्तमै हुँदा रहेछन्”भन्ने भाष्य र दृष्टिबाट बन्दा त्यसको नकारात्मक बाछिटाले हामी सबैलाई “दागी” बनाउँछ।

समस्याको समाधान दोषारोपण होइन, चेतनाको अभिवृद्वी हो र त्यो सार्वजनिक वहसको माध्यबाट होईन, कुरिती, असंगति र असामाजिकतालाई निर्मूल पार्ने विकल्प सार्वजनिक अभिव्यक्ती कुनैपनि हालतमा हुनै सक्दैन।

अत: अब प्रेरणाको कथा भनौं:  बिग्रेका कथा होइन, संघर्ष गरेर सफल भएका महिलाहरूको कुरा गरौं।

समाजमा कहिलेकाहीँ एउटा अचम्मको प्रवृत्ति देखिन्छ — जहाँ महिला वा पुरुषको सफलता भन्दा पनि उनको असफलता, गल्ती वा विवाद बढी चर्चाको विषय बन्छ। कोही “बिग्रिएकी” भनेर चिनाइन्छिन्, कसैको व्यवहारलाई सामाजिक नैतिकताको तराजुमा तौलिन्छ। तर, यस्तो दृष्टिले न त समाजको भलो गर्छ, न त महिला सशक्तिकरणमा सहयोग पुर्‍याउँछ। बिग्रेका भनिएका केही कथाहरूको साटो, संघर्ष गरेर सफल भएका महिलाहरूको कथा समाजमा पस्किऔं। किनकि ती संघर्षका कथा नै हाम्रो समाजका सबै वर्गका महिलाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छन्।

कतिले घरेलु हिंसाबाट मुक्ति पाएर व्यवसाय सुरु गरेकी छिन्, कसैले श्रमिक भएर परदेशमा परिवारको भविष्य सुरक्षित बनाइरहेकी छिन्, कसैले अध्ययन र मेहनतको सहारामा नेतृत्वको स्थान ओगटेकी छिन्। यी कथाहरु केवल व्यक्तिगत उपलब्धि होइनन्- यी कथा हुन्, विश्वास, साहस र आत्मनिर्भरताको प्रतीक। जब समाजले यस्ता सकारात्मक कथाहरू सुन्छ, त्यसले “बिग्रेका” भनिएका मानिसहरूलाई पनि सोच बदल्ने, आत्मविश्वास बटुल्ने र नयाँ सुरुवात गर्ने प्रेरणा दिन्छ। सकारात्मक कथा सुन्दा मानिसमा चेतना, आत्मबल र आशा जागृत हुन्छ।

समाज परिवर्तनका लागि नकारात्मक कुरा होइन, सकारात्मक उदाहरणहरू फैलिन जरुरी छ। प्रेरणादायी महिलाहरूको कथा उनीहरूको मात्र होइन, सम्पूर्ण समाजको लागि जित हुन्छ।

हामीले अब कसैको गल्ती होइन, उनको संघर्ष र उपलब्धि देख्न,लेख्न र बोल्न सक्नु पर्छ। कसैको पतन होइन,उनको उठ्ने सामर्थ्यबाट प्रेरणा लिनुपर्छ। किनभने, जब एउटा महिला सफल हुन्छे, त्यो समाजका सयौँ महिलाको आँखा खोल्ने उदाहरण बन्छ। त्यसैले, बिग्रेका भनिएका कथाहरू होइन, संघर्ष र सफलताका कथाहरू सुनाऔं, त्यसले हाम्रा छोरी, दिदीबहिनी र आमाहरूलाई नयाँ बाटो देखाउनेछ।

 

 

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस