२०८२ कार्तिक २० गते बुधवार | 2025 November 5th Wednesday

नेपाल–ओमान सम्बन्ध सुदृढीकरणका लागि मस्कटस्थित नेपाली दूतावासद्वारा ‘विद्युतीय सङ्ग्रहालय’ स्थापना गर्ने निर्णय

मस्कट (ओमान), कात्तिक १७-

नेपाली राजदूतावास, मस्कटले नेपाल–ओमानबीचका ऐतिहासिक र महत्वपूर्ण घटनाक्रमहरूलाई अभिलेखका रूपमा संरक्षण गर्ने उद्देश्यले “विद्युतीय सङ्ग्रहालय (e-Museum)” स्थापना गर्ने निर्णय गरेको छ। राजदूतावासको मिति २०८२ साल कात्तिक १३ गते (३० अक्टोबर २०२५) को निर्णयअनुसार उक्त सङ्ग्रहालय निर्माण कार्य अघि बढाइने निर्णय भएको दूतावासले जानकारी दिएको हो।

विद्युतीय सङ्ग्रहालयमा नेपाल–ओमान सम्बन्धका विभिन्न आयामहरू—जस्तै उच्चस्तरीय भ्रमणहरू, ऐतिहासिक दस्तावेजहरू, पुस्तक, लेख, रचना तथा प्रकाशनहरू, अनुसन्धान सामग्री, तथ्याङ्क, तस्बिर, भिडियो, साथै पहिलो पटक भएका कार्य वा भ्रमण सम्बन्धी अभिलेखहरू—समावेश गरिने विज्ञप्तिमा जनाईएको छ।

राजदूतावासका अनुसार यो सङ्ग्रहालयमार्फत नेपाल–ओमानबीचको बहुआयामिक सम्बन्धका विविध पक्षहरूलाई एकीकृत गरी अभिलेख तयार पारिनेछ, जसले भविष्यका पुस्ताहरूका लागि अध्ययन तथा अनुसन्धानमा उपयोगी स्रोतको रूपमा योगदान पुर्‍याउनेछ। साथै, यसले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सङ्ग्रहालयको प्रारम्भिक चरण टेलिभिजन र Kiosk Machine मार्फत गरिनेछ। साथै, सार्वजनिक गर्न मिल्ने महत्त्वपूर्ण कागजातहरू र तस्बिरहरू भौतिक रूपमा पनि प्रदर्शन गरिने राजदूतावासले जनाएको छ।

उक्त परियोजना कार्यान्वयनका लागि राजदूतावासका प्रथम सचिव बिशेष कुमार साहको संयोजकत्वमा एक समिति गठन गरिएको छ र समितिमा अफिस सेक्रेटरी श्री नाजिम ओस्मान, चालक/मेसेन्जर श्री रमेश प्रसाद अर्याल र ओमानमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधि श्री तोलाकान्त भट्टराई सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ।

राजदूतावासले सबै सरोकारवालाहरुलाई नेपाल–ओमान सम्बन्धका विभिन्न घटनाक्रम, ऐतिहासिक कागजात, तस्बिर वा सामग्री उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ।

परियोजनामा आवद्ध हुन तथा सामग्री वा जानकारी उपलब्ध गराउन इच्छुकहरूका लागि सम्पर्क गर्न इमेल तथा फोन नम्नर समेत दूतावासले सार्वजनिक गरेको छ:

इमेल: eonmuscat@mofa.gov.np

फोन: +968-71592490

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस