२०८२ पुष १ गते मङ्गलवार | 2025 December 16th Tuesday

दोहामा पहिलोपटक रोजगारी र व्यक्तित्व विकासमा केन्द्रित निःशुल्क कार्यक्रम

दोहा (कतार) — प्रवासी नेपाली समुदाय कतारले एक सूचना मार्फत रोजगारी, व्यक्तित्व विकास र जीवन उन्नतिमा केन्द्रित विशेष निःशुल्क कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ।

कार्यक्रम आगामी नोभेम्बर १४, २०२५ (शुक्रबार) का दिन मुन्तजा स्थित गोर्खाली रेस्टुरेन्टमा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

रोजगारी खोजिरहेका, पेशागत रूपमा आफूलाई सुधार गर्न चाहने तथा जीवनमा सकारात्मक परिवर्तन ल्याउन इच्छुक प्रवासी नेपालीका लागि यो कार्यक्रम अत्यन्तै उपयोगी हुने आयोजकले दावी गरेको छ।

कार्यक्रममा कतारका अनुभवी मानव संसाधन (HR) विशेषज्ञहरूसँग प्रत्यक्ष साक्षात्कार, रोजगारी खोज्ने तरिका, कम्पनीमा कसरी अप्रोच गर्ने, र प्रभावकारी सिभी (CV) बनाउने सीप सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइनेछ।

त्यसका साथै, डेमो अन्तर्वार्ता  मार्फत अन्तर्वार्ताको तयारी र आत्मविश्वास विकास व्यक्तित्व विकास सत्र, जीवन विकास, मार्गदर्शन, तथा सीप स्तरोन्नति मिनी तालिमपनि कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।

आयोजकका अनुसार यो कार्यक्रम अतिकम-दक्ष कामदारदेखि उच्च-दक्ष तहसम्मका सबै प्रवासी नेपालीका लागि खुला हुनेछ।

कार्यक्रममा सहभागिता निःशुल्क भए पनि दर्ता अनिवार्य गरिएको छ। QR कोड स्क्यान गरी Google Form मार्फत दर्ता गर्न सकिने तथा सहभागी कोटा सिमित भएकाले पहिले दर्ता गर्नेहरूलाई प्राथमिकता दिइने आयोजकको सुचनामा जनाइएको छ।

प्रवासी नेपाली समुदाय कतारका अनुसार, “यो प्रशिक्षणले प्रवासी नेपालीहरूलाई रोजगारी, आत्मविकास र करियर उन्नतिको दिशामा नयाँ सम्भावना खोल्नेछ।”

इच्छुकहरूलाई आफ्नो नाम समय मै दर्ता गरि कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

 

 

 

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस