दोहा। नेपाली कांग्रेसभित्र अहिले उठिरहेको विशेष महाधिवेशनको माग कुनै सामान्य राजनीतिक घटनाक्रम होइन। यो मागले केवल दलभित्रको नेतृत्व संघर्ष होइन, नेपाली लोकतन्त्रभित्रको पुनर्जागरण चेतना उजागर गरेको छ।
संस्थापन पक्ष यसलाई “फुटको षड्यन्त्र” भनेर प्रचार गर्दैछ, तर वास्तविकता के हो भने यो माग लोकतान्त्रिक असन्तोषको स्वाभाविक प्रतिक्रिया हो, जहाँ कार्यकर्ताहरूले नयाँ सोच, नयाँ ऊर्जा र जवाफदेहिता खोजिरहेका छन्।
कांग्रेसको इतिहासमा विशेष महाधिवेशन कुनै नयाँ कुरा होइन। वि.सं. २०१४ मा तत्कालीन सभापति सुवर्ण शमशेरले नै विशेष महाधिवेशनको प्रस्ताव गरे, र त्यसको परिणामस्वरूप विशेष महाधिवेशनबाट बी.पी. कोइराला सर्वसम्मत सभापति बने। त्यतिबेला सुवर्ण शमेशरले भनेका थिए “काँग्रेसलाई डाइनामिक नेतृत्वको खाँचो छ त्यसैले विशेष महाधिवेशन आवस्यक छ”
बी.पी. को नेतृत्वमा कांग्रेसले दुई तिहाई बहुमतसहित चुनाव जित्यो र नेपाली लोकतन्त्रको पहिलो स्थायी सरकार बन्यो।
त्यो महाधिवेशनले देखायो, नेतृत्व हस्तान्तरण केवल पद परिवर्तन होइन, संगठनमा नयाँ जीवन फुक्ने प्रक्रिया हो।
सबैभन्दा रोचक कुरा त के भने सुवर्ण शमशेर आफैं कोषाध्यक्ष बनेर बी.पी. को अधीनमा रहेर काम गरे। यो व्यवहारले त्याग र सहकार्यको राजनीतिक संस्कृति प्रदर्शन गर्यो, जुन अहिलेको नेतृत्वमा दुर्लभ भइसकेको छ।
आजको कांग्रेसमा नेतृत्वको नवीकरण रोकिएको छ। दशकौंदेखि पार्टीको वरिपरि घुमिरहेकाहरू—विमलेन्द्र निधि, प्रकाशमान सिंह, सशांक कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत र बिजयकुमार गच्छदार—यिनीहरूलाई कार्यकर्ताहरूले व्यङ्ग्यात्मक रूपमा “सातभाइ” र संस्थापन पक्षले “सानदाइ” भनेर चिन्छन्। यी सातभाईले पार्टीका प्रमुख निर्णयहरूमा आफ्नो पकड बनाइराखेका छन्, र त्यो पकड गुम्ने डरले उनीहरू अहिले विशेष महाधिवेशनको मागलाई रोक्न प्रयत्नरत छन् भने नियमित महाधिवेशनलाई समेत अनिश्चित बनाउने योजनामा लागिपरेका छन्।
तर सत्ता र लाभको यथास्थितिवाद सधैं टिक्दैन। अबको पुस्ता परिवर्तन चाहन्छ, सिर्फ अनुहारको होइन, सोच र संस्कृतिको परिवर्तन। उनीहरू नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र आधुनिक राजनीतिक दृष्टि खोजिरहेका छन्। विशेष महाधिवेशनको माग यही चेतनाको प्रतिफल हो।
कांग्रेसको बल महाधिवेशनका प्रतिनिधिहरूमा निहित छ, त्यो नै दलको जरा हो। तर आज संस्थापन पक्षले ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिलाई म्याद सकिएको भनेर अस्वीकार गर्दै दललाई जरा–विहीन बनाउने प्रयास गरिएको छ। जरा काटेपछि रुख बाँकी रहँदैन; हाँगा–पात मर्छ, संस्थापन र सातभाइ दुवै सुक्छन्।
दलको जीवन संगठनात्मक नवीकरणमा हुन्छ, स्थगन र निष्क्रियतामा होइन। त्यसैले विशेष महाधिवेशन माग्नेहरूको आवाज फुटको होइन, संरचनात्मक पुनर्संयोजनको माग हो।
आजको युवा पुस्ता केवल राज्यका संरचनामा होइन, राजनीतिक दलहरूकै व्यवहारमा परिवर्तन खोज्दैछ। तिनीहरूलाई पार्टीभन्दा प्रयोगशाला चाहिएको छ, जहाँ विचार, दृष्टि र अवसरको प्रयोग गर्न सकियोस्। त्यसैले विशेष महाधिवेशन कुनै पद–राजनीतिक खेलको लागि नभई , ‘स्पिरिट अफ ट्रान्सफर्मेशन’ को लागि हो—जहाँ पुस्तान्तरण र रूपान्तरण दुवै मिसिन्छन्।
फागुन २१ का लागि तय गरिएको निर्वाचन कांग्रेसका लागि निर्णायक मोड हो।
यदि त्यसअघि नै पार्टीले विशेष वा नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न सक्यो भने, कांग्रेसले आफ्नो जनविश्वास पुनः प्राप्त गर्न सक्छ। तर संस्थापन पक्षले जस्तै वर्तमान स्थिति यथावत् राख्ने प्रयास गर्यो भने, कांग्रेसको भविष्य केवल इतिहासको सम्झना बनेर रहन सक्छ।
विशेष वा नियमित महाधिवेशन फुटको बीउ होइन, पुनर्जागरणको बीउ हो। यसले दलभित्रको स्फूर्ति, प्रतिस्पर्धा र जवाफदेहिता पुनर्जीवित गर्न सक्छ।
बी.पी. कोइरालाको युगमा विशेष महाधिवेशनले कांग्रेसलाई सत्तासम्म पुर्यायो; आज पनि त्यही बाटोले कांग्रेसलाई जनविश्वासको केन्द्रमा फर्काउन सक्छ। यदि नेपाली कांग्रेसले यो चेतनालाई आत्मसात् गर्न सक्यो भने त्यो केवल पार्टीको पुनरुत्थान होइन, नेपाली लोकतन्त्रकै पुनर्जागरण हुनेछ।