२०८२ मङ्सिर १ गते आइतवार | 2025 November 16th Sunday

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार शाखाको चौथो अधिवेशन सम्पन्न, आर्थिक संरचनामा सुधारको आवस्यकता

कतार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशन शाखाका अध्यक्ष शिवराम ढकालको सभापतित्व र संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अधिवेशनले २०२५–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व निर्विरोध चयन गर्दै संस्थाको भावी दिशाबारे विस्तृत मूल्यांकन प्रस्तुत गरेको छ।

अध्यक्षमा निर्वाचित कृष्णप्रसाद ढकालले आफ्नो पहिलो प्रतिक्रियामा संस्थालाई पारदर्शी, सक्रिय र संस्कृति–केन्द्रित ढंगले सञ्चालन गर्ने संकेत दिए।

ढकालले भने “कतारमा रहनुहुने सम्पूर्ण लोक तथा दोहोरीप्रेमी दाजुभाइ दिदीबहिनीलाई एकताबद्ध गर्दै नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा आगामी कार्यकाल निर्णायक बन्नेछ।”

अधिवेशनले लोक तथा दोहोरी संस्कृतिको अन्तर्राष्ट्रिय परिचय, कतारस्थित सांस्कृतिक गतिविधिको आयोजना र सदस्यहरूको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना अघि सार्ने बताएको छ।

 

आर्थिक प्रतिवेदन : संस्थाको खर्च–केन्द्रित संरचनाबारे गम्भीर संकेत

निवर्तमान अध्यक्ष शिवराम ढकाल नेतृत्वको आर्थिक प्रतिवेदनले संस्थाको वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको प्रष्ट देखाएको छ।

विगत कार्यकालको आर्थिक विवरणमा कुल आम्दानी : १,०१६७५, कुल खर्च : ९९३५४ र वचत केवल २३२१ देखाएको छ।

आय–व्ययको तुलना हेर्दा संस्थाले उत्पन्न गरेको रकमको अत्यन्त न्यून अंश मात्र बचत भएको देखिन्छ। प्रतिवेदनले आम्दानीको स्रोत मुख्यतया खर्च पूर्ति गर्न मात्र प्रयोग भएको स्पष्ट संकेत गर्छ। यो संरचना दीर्घकालीन रूपमा संस्थाको स्थायित्वका लागि अनुकूल नभएको सहभागी मध्ये एकले बताए।

कतारस्थित धेरै नेपाली संघ–संस्थामा देखिँदै आएको समान समस्या “खर्चका लागि मात्र आम्दानी जुटाउने प्रवृत्ति” यस संस्थामा पनि देखिएको आर्थिक प्रतिवेदनले दर्शाउँछ, यो चिन्ताको विषय हो।

अधिवेशनले प्रस्तुत गरेको विवरणले संस्थामा अति न्यून बचत हुनुको प्रमुख कारण उच्च समारोह–केन्द्रित खर्च रहेको तथ्य उजागर गर्छ। विशेष गरी सभा–सेमिनार, स्वागत–सत्कार तथा सम्मान कार्यक्रम जस्ता शीर्षकमा ठूलो रकम खर्चिने प्रवृत्ति संस्थाको दीर्घकालीन आर्थिक क्षमता कमजोर बनाउने प्रकृतिको छ।

मौजुदा वित्तीय तथ्यांकले बचत–संस्कृति कमजोर रहेको देखाएकाले भविष्यमा खर्च घटाउने, बचत बढाउने र आम्दानीलाई कार्यक्रममात्र होइन, संस्थागत विकासका लागि उपयोग गर्ने संरचनात्मक सुधार आवश्यक देखिन्छ।

नयाँ कार्यसमितिले आर्थिक पारदर्शिता, खर्च नियन्त्रण र दीर्घकालीन बचतमुखी नीति अवलम्बन गर्ने हो भने संस्थाको विश्वसनीयता तथा स्थायित्व दुवै मजबुत हुने विश्वास गर्न सकिन्छ। कतारमा रहेका संस्थाहरूले आर्थिक अनुशासनलाई केन्द्रमा राखेर मात्रै समुदायका दीर्घ हितअनुरूप काम गर्न सक्ने वर्तमान आवश्यकतासँग यो संस्थाको भविष्य पनि जोडिएको छ।

 

नयाँ कार्यसमिति (२०२५–२०२८)

अध्यक्ष: कृष्ण प्रसाद ढकाल (स्याङ्जा)

प्रथम उपाध्यक्ष: कृष्ण दर्लामी (पर्वत)

द्वितीय उपाध्यक्ष: गोबिन्द कटुवाल (इटहरी, सुनसरी)

महिला उपाध्यक्ष: रेश्मी सेन्चुरी (दाङ)

सचिव: प्रकाश दर्नाल (रामेछाप)

कोषाध्यक्ष: गोकुल प्रसाद सापकोटा (कपिलवस्तु)

महिला सचिव: लक्ष्मी कार्की (धनकुटा)

सह–सचिव: बाबु कौशल (बागलुङ)

सह–कोषाध्यक्ष: पुकार थापा (स्याङ्जा)

सदस्यहरू :

राजन दर्जी (बागलुङ), सङ्गीत वि.सी (महोत्तरी), श्याम पाण्डे (चितवन),

नारायण देवकोटा (रुपन्देही), नयन शर्मा (कास्की), प्रताप मुस्कान (भोजपुर),

सन्तोष विश्वकर्मा (सिराहा), लक्ष्मी प्रसाद सापकोटा (इलाम), विशन वि.सी (बागलुङ),

देव बहादुर विश्वकर्मा (पर्वत), जमुना वि.सी (चितवन), गंगा वि.सी (चितवन),

सोम विश्वकर्मा (तनहुँ), तारा वि.सी (बागलुङ), खड्ग वस्नेत (सङ्खुवासभा),

गिता भट्टराई (काठमाडौं)।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस