२०८२ पुष २ गते बुधवार | 2025 December 17th Wednesday

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कतार शाखाद्वारा एफएनजे कतारलाई सम्मान

 

दोहा । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, कतार शाखाले नेपाल पत्रकार महासंघ (एफएनजे) कतार शाखालाई सम्मान गरेको छ। प्रतिष्ठान शाखाको स्थापना कालदेखि नै एफएनजे कतारले प्रदान गर्दै आएको भौतिक तथा नैतिक सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाले विशेष सम्मान अर्पण गरेको हो।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार शाखाको चौँथो अधिवेशनको अवसरमा एफएनजे कतारलाई सम्मान प्रदान गरिएको थियो। अधिवेशनकै विशेष सत्रमार्फत प्रतिष्ठानले पत्रकार महासंघसँगको दीर्घ सहकार्य र सहयोगलाई औपचारिक रूपमा प्रशंसा गर्दै सम्मान हस्तान्तरण गरेको हो।

उक्त सम्मान एफएनजे कतारका प्रमुख सल्लाहकार करिम बक्स मियाँले संस्थाको तर्फबाट ग्रहण गरे। सम्मान ग्रहण गर्दै उनले प्रवासी नेपाली पत्रकारिता, कला, संस्कृति र समुदायबीचको सहकार्यले प्रवासमा बस्ने नेपालीको पहिचान तथा गतिविधिलाई थप सबल बनाइरहेको बताए।

प्रतिष्ठान कतार शाखाले एफएनजे कतारले कार्यक्रम कवरेज, सूचना प्रवाह, सांस्कृतिक क्रियाकलापका प्रवद्र्धन तथा संस्थागत सहकार्यका क्षेत्रमा गरेको निरन्तर सहयोगलाई उच्च मूल्यांकन गरेको जनाएको छ।

कार्यक्रमका वक्ताहरूले प्रवासमा क्रियाशील दुवै संस्थाबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

 

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस