दोहा । बागलुङ सेवा समाज दोहा कतार र बागलुङ सेवा समाज कतार अक्षयकोषको संयुक्त पहलमा आगामी २१ नोभेम्बर २०२५ मा दोहास्थित हमाद मेडिकल ब्लड डोनर सेन्टरमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदैछ। “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल मन्त्रका साथ अघि सारिएको यो सामाजिक अभियानले कतारमा रहेका नेपाली समुदायबीच मानवता, परोपकार र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रम बिहान ८ बजेबाट दिउँसो १२ बजेसम्म संचालन हुनेछ। विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, पत्रकार, कलाकार तथा समुदायका अगुवाहरूसमेतलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। आयोजकका अनुसार समुदायको उपस्थिति र साथले कार्यक्रमलाई अझ प्रभावकारी र प्रेरणादायी बनाउनेछन् भन्ने विश्वास गरिएको छ।
रक्तदानका लागि कतारका स्वास्थ्य तथा कानुनी मापदण्डअनुसार रक्तदाताले आवश्यक कागजात लिएर उपस्थित हुनुपर्नेछ। कतारी आईडी, लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य मानिएको छ। साथै कतार प्रवेश गरेको चार महिना पूरा भएको हुनुपर्ने र अघिल्लो रक्तदानपछि कम्तीमा ६० दिन बितेको हुनुपर्छ। रक्तदाता पर्याप्त निद्रा पुर्याएर, कुनै पनि एन्टिबायोटिक औषधि नखाई, पछिल्लो २४ घण्टामा मदिरा सेवन नगरेको हुनुपर्ने छ। उमेर १८ देखि ६५ वर्ष र तौल ५० केजीभन्दा बढी हुनुपर्ने मापदण्ड पनि कायम गरिएको छ। अन्य स्वास्थ्य सूचकहरू स्थलमै उपस्थित स्वास्थ्यकर्मीले मूल्यांकन गर्नेछन्।
आयोजक संस्थाका सचिव मदन जीसीले कतारमा रहेका नेपालीहरूबीच आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउन यस्ता अभियान अत्यन्त महत्वपूर्ण भएको एक सुचना मार्फत बताए।
बागलुङ सेवा समाज कतार र बागलुङ सेवा समाज कतार अक्षयकोष परिवारले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रमलाई सफल पार्न सबैमा हार्दिक अनुरोध गरेका छन्।