२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

महिलाले एक अर्काको सम्मान,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्छ :राजदुत ढकाल

दोहा-नेपाली राजदूतावास कतारका महामहिम डाक्टर नरेश विक्रम ढकालले महिलाले एक अर्काको सम्मान गर्ने,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने बताएका छन।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोल्ने क्रममा उनले बर्षमा एकदिन नारीको बारेमा भाषण र आदर्शका कुरा गरेर मात्र नारीको सम्मान नहुने बताउदै महिलाले एक अर्काको सम्मान गर्ने,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने बताएका हुन।

नेपाली महिला समाज कतार र एनसिसी कतार अन्तर्गतको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा भएको ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदै डाक्टर ढकालले नारी मैत्रीका भाषण र आदर्शका कुरा गर्ने व्यक्तिहरुले नै नारीमाथि दमन र अत्याचार गरेको र समाजमा प्रशस्तै देखिएको बताए ।

 

नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डाक्टर ढकालको प्रमुख आतिथ्यतासँगै गैर आवासिय नेपाली संघ एनआरएन एनसिसी कतारका अध्यक्ष रमेश भट्टको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा समय व्यवस्थापन र नेतृत्व विकास सम्बन्धि सरिन दासले,आर्थिक मितव्ययिता सम्बन्धि दीपा सिंह र महिला स्वास्थ सम्बन्धि सरिता भण्डारी पौडेलले सचेतना प्रशिक्षण दिएका थिए।

नारी दिवसको अवसरमा कार्यक्रममा उपस्थित सम्पुर्णलाई आयोजक संस्थाको लोगो अंकित कप मायाको चिनोको रुपमा प्रदान गरिएको थियो।

कतारमा स्थापित विभिन्न बैचारिक संगठन,विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको बारेमा सुष्मा खतिवडाले प्रष्ट पारेकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव मेनुका भन्डारीले गरेकी थिइन।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस