२०८३ असोज १७ गते शनिवार | 2026 October 3rd Saturday

गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा ‘श्रमिक कल्याणकारी कोष’का लागि लेकाली ब्यान्डको साङ्गीतिक कार्यक्रम हुने

​दोहा, कतार — गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजना तथा प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाहरूको सह-आयोजनामा ‘श्रमिक कल्याणकारी कोष’ स्थापनार्थ विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। बडादसैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित आगामी ६ नोभेम्बर २०२६ शुक्रबारका दिन कतारको अल वुकैरस्थित डीपीएस मोनार्क इन्टरनेशनल स्कुलको सभाहलमा सो कार्यक्रम हुन लागेको हो।

​बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रममा नेपालको ऐतिहासिक तथा चर्चित ‘लेकाली ब्यान्ड’को लाइभ प्रस्तुति रहनेछ। ब्यान्डले ‘यो मुटुमा’, ‘सपनीमा अँजुली भरी माया’, ‘पहिलो नजर’, ‘नजाऊ न छाडी मायालु’, ‘वनमा कस्तुरी’, ‘पोखरेली नानी’ लगायतका प्रसिद्ध गीतहरू प्रस्तुत गर्नेछ। साथै गण्डकी प्रदेशको मौलिक कला, भेषभूषा, संस्कृति र परम्परा झल्किने झाँकी, सांस्कृतिक नृत्य तथा स्थानीय प्रतिभाशाली कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ।

​कतारमा कार्यरत नेपाली श्रमिकहरूमा पर्न सक्ने आकस्मिक विपद्, स्वास्थ्य समस्या तथा अन्य मानवीय सहायताका लागि कोष स्थापनार्थ यो कार्यक्रम आयोजना गरिएको परिषद्का उपाध्यक्ष कल्याण थापाले बताए। कार्यक्रमको मुख्य प्रायोजकका रूपमा ‘भिक्टोरिया गोल्ड एन्ड डायमन्ड’ रहेको छ।

​कार्यक्रमका आर्थिक संयोजक अर्जुन सग्रौलाका अनुसार आयोजना सम्पन्न गर्न करिब ४५ देखि ५० हजार कतारी रियाल खर्च हुने अनुमान गरिएको छ भने प्रायोजक र टिकट बिक्रीबाट ५० देखि ६० हजार कतारी रियाल सङ्कलन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति ३० कतारी रियाल निर्धारण गरिएको छ।

​पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै परिषद्का अध्यक्ष नन्दलाल विक ‘अजय’ले कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइने र कार्यक्रम सकिएपछि सम्पूर्ण आय-व्ययको पारदर्शी हिसाब सार्वजनिक गरी कोषको कार्यविधि तयार गरिने प्रतिबद्धता जनाए। महासचिव मनप्रसाद रानामगरले सहजीकरण गरेको उक्त सम्मेलनमा कतारस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कार्यक्रम सफल बनाउन सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस