एनआरएनए कतारद्वारा अर्थमन्त्रीलाई ज्ञापन पत्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कतारमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानका लागि ज्ञापन पत्र बुझाएको छ।
२१ सेप्टेम्बर २०८२ मा जारी ज्ञापन पत्रमा एसियाली पूर्वाधार लगानी बैंकको बैठकका लागि दोहा आएका अर्थमन्त्रीलाई स्वागत गर्दै मागहरू राखिएका छन्।
दूतावासमा श्रमिक सहायता डेस्क स्थापना गर्न एनआरएनए कतारले आफ्नै खर्चमा कम्प्युटर, फोटोकपी मेसिन र कर्मचारीसहित सेवा सञ्चालन गर्न अनुमति मागेको छ। सेवा शुल्क डिजिटल माध्यमबाट तिर्ने व्यवस्था र तत्काल रसिद उपलब्ध गराउन पनि अनुरोध गरिएको छ।
श्रमिक कल्याणकारी कोषबाट संकटमा परेका श्रमिकलाई छिटो सहायता पुर्याउन मापदण्ड र प्रक्रिया स्पष्ट पार्न माग गरिएको छ। रोजगारदाता कम्पनीको तलब, आवास र गुनासोको अवस्था जाँचेर मात्र मागपत्र स्वीकृत गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।
दूतावासका सिफारिस तथा प्रमाणित सेवाको शुल्क घटाउन प्रस्तावित दर यसप्रकार छः
- पुलिस रिपोर्ट प्रमाणितः १८५ बाट ५० कतारी रियाल
- रहदानी आवेदनः १८५ बाट १३० कतारी रियाल
- नयाँ रहदानी आवेदन (हराएको/बिग्रिएको): ३७० बाट १८५ कतारी रियाल
- एकतर्फी यात्रा अनुमतिपत्रः १८५ बाट १०० कतारी रियाल
- चारित्रिक प्रमाण पत्रः ४० बाट १० कतारी रियाल
यसैगरी, गुनासो सुनुवाइका लागि स्पष्ट सम्पर्क बिन्दु र आपतकालीन नम्बर, बिरामी तथा अलपत्र परेका श्रमिकको उद्धार र स्वदेश फिर्तीमा छिटो समन्वय, प्रस्थानपूर्व जानकारी प्रणाली प्रभावकारी बनाउने तथा पुनः वैदेशिक रोजगारीमा जाने श्रमिकको कानुनी अवस्था जाँच गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।
एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थी र महासचिव शिव भुजेलले यी विषय श्रमिकको दैनिक जीवन, सुरक्षा र सम्मानसँग जोडिएको भन्दै सम्बन्धित निकायसँग समन्वय गरी ठोस निर्णय लिइदिन ज्ञापन पत्रद्वारा आग्रह गरेका छन्।