दोहा, कतार
कतारमा कार्यरत कास्कीवासीहरूलाई साङ्गठनिक रूपमा एकजुट गराउँदै सामाजिक कार्यमा सक्रिय रहँदै आएको ‘कास्की आदर्श समाज कतार’को दशौँ राष्ट्रिय अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आगामी शुक्रबार (२ अक्टोबर २०२६) आयोजना हुने भएको छ।
अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए। यस अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरी औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिनेछ।
कार्यक्रमलाई सांगीतिक एवं मनोरञ्जनात्मक बनाउन कतारमा रहेका स्थानीय पोखरेली तथा अन्य नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष देवकोटाले बताए।
आयोजकका अनुसार प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रबार मध्यान्ह १२:०० बजेदेखि कार्यक्रम सुरु हुनेछ।
‘कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको समाजले अधिवेशनमा कतारस्थित नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार तथा कास्कीवासीहरूलाई उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ।