२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

पशुपति शर्मा र शर्मिला गुरुङको साथमा स्याङ्जा सहयोग समाज कतारको वार्षिकोत्सव मनाउने

कतार: कतारमा सामाजिक सेवाको भावनालाई शिरोधार्य गर्दै स्थापित स्याङ्जा सहयोग समाज कतारले आफ्नो २० औं वार्षिकोत्सव तथा २१ औं स्थापना दिवस विशेष सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ। संस्थाले आगामी १६ मई २०२५, शुक्रबारका दिन “अनाथ तथा असहाय बालबालिका हरुको सहयोगार्थ” बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।

उक्त समारोहमा नेपालका दुई चर्चित लोकदोहोरी जगतका हस्तीहरुको विशेष प्रस्तुति रहने भएको छ। बहुचर्चित लोकदोहोरी गायक तथा आकर्षक मोडेल पशुपति शर्माले आफ्नो सुमधुर आवाज र दमदार प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्। त्यस्तै, नेपाली लोकदोहोरी गायनमा छुट्टै पहिचान बनाउन सफल गायिका शर्मिला गुरुङले पनि आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरी माहोललाई थप संगीतमय बनाउनेछिन्।

कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्। यसका साथै, नेपाली मौलिक बाजा नौमतीको प्रत्यक्ष प्रस्तुतिले नेपाली कला र संस्कृतिको झलक दिने आयोजकले जनाएको छ। प्रत्यक्ष दोहोरी घम्साघम्सी पनि कार्यक्रमको विशेष आकर्षण रहने अनुमान गरिएको छ, जहाँ पशुपति र शर्मिलाले दर्शकहरुलाई मनोरञ्जन दिनेछन्।

स्याङ्जा सहयोग समाज कतारले यो महत्वपूर्ण कार्यक्रम ट्युनिसियन स्कुल, अल लक्तामा आयोजना गर्दैछ। कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ। संस्थाले कतारमा रहेका सम्पूर्ण स्याङ्जावासी तथा गैर-स्याङ्जावासी दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजित यस पुण्य कार्यमा सहभागी भइदिन हार्दिक अनुरोध गरेको छ।

संस्थाले कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवी, व्यावसायी, पत्रकार लगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थितिका लागि विशेष निमन्त्रणा गरेको छ। यो कार्यक्रमले मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवाको भावनालाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस