२०८३ कार्तिक १४ गते शुक्रवार | 2026 October 30th Friday

राजदूतावासको अभिभावकत्वको परिभाषा के हो?

 

आज कतारमा सम्पन्न दक्षिण एसियाली समुदायको बृहत् मेडिकल क्याम्पको औपचारिक समारोहले नेपाली राजदूतावासको अभिभावकीय भूमिकामाथि फेरि एउटा गम्भीर प्रश्न उठाएको छ।

कार्यक्रममा दक्षिण एसियाली राष्ट्रका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता थियो। सबैले आ–आफ्नो समुदायको प्रतिनिधित्व गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे, आफ्ना धारणा राखे र अभियानको महत्त्वलाई स्वीकार गरे। नेपालको तर्फबाट पनि अन्ततः उपस्थिति रह्यो। नेपाली राजदूतावासका फर्स्ट सेक्रेटरीले जम्मा तीन सेकेन्डको सम्बोधनमार्फत नेपालको प्रतिनिधित्व गर्नुभयो। यसलाई इतिहासकै सबैभन्दा छोटो कूटनीतिक सम्बोधनमध्ये एक मान्न सकिएला। तर हाम्रो चासो सम्बोधनको अवधि होइन, त्यसको पछाडि देखिएको संस्थागत प्राथमिकता हो।

 

विगत दुई महिनादेखि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले नेपाली समुदायको तर्फबाट यस अभियानमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको थियो। करिब चार हजार विभिन्न देशका नागरिकले आवेदन दिएको अभियानमा एक हजारभन्दा बढी नेपाली सहभागी हुन इच्छुक देखिए। तीमध्ये अधिकांश न्यून आयस्रोत भएका श्रमिक थिए, जसका लागि सामान्य स्वास्थ्य परीक्षण र उपचारसमेत आर्थिक हिसाबले सहज विषय हुँदैन। उनीहरूका लागि यो मेडिकल क्याम्प एउटा औपचारिक कार्यक्रमभन्दा बढी स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्ने महत्त्वपूर्ण अवसर थियो।

 

यति ठूलो संख्यामा नेपाली नागरिक प्रत्यक्ष लाभान्वित हुने अभियानमा नेपाली राजदूतावासको संस्थागत चासो, सक्रियता र अभिभावकीय उपस्थिति कस्तो हुनुपर्ने थियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

 

हामीले प्रथम सचिव राईमार्फत राजदूतावासलाई यही सन्देश पुर्‍याउन आग्रह गरेका छौँ। के एक हजारभन्दा बढी न्यून आयस्रोत भएका नेपालीको स्वास्थ्यसँग जोडिएको यो अभियानमा राजदूतावासले आफ्नो विवेक प्रयोग गर्न चुक्यो? के आफ्ना नागरिकको यस्तो मानवीय सरोकारमा अभिभावकीय भूमिका निर्वाह गर्ने अवसरलाई पर्याप्त महत्त्व दिन सकिएन? यो प्रश्न कुनै व्यक्तिको उपस्थितिलाई लिएर गरिएको टिप्पणी होइन, विदेशमा रहेका नेपाली नागरिकप्रतिको राज्यको जिम्मेवारीसँग सम्बन्धित प्रश्न हो।

 

प्राप्त जानकारीअनुसार कार्यवाहक राजदूत कुमार राई यस्ता कार्यक्रममा राजदूतावास सहभागी नहुने अडानमा रहनुभयो। उहाँ स्वयं सहभागी हुन अनिच्छुक भएपछि अन्तिम समयमा फर्स्ट सेक्रेटरीमार्फत प्रतिनिधित्व गराइयो। जबकि अन्य दक्षिण एसियाली मुलुकका राजदूतहरू स्वयं उपस्थित भएर आफ्नो समुदायको प्रतिनिधित्व गरिरहेका थिए। यस्तो अवस्थामा नेपाली राजदूतावासको सहभागितालाई केवल औपचारिक प्रतिनिधित्वमा सीमित राख्नु पर्याप्त थियो कि थिएन भन्ने बहस हुनु अस्वाभाविक होइन।

 

राजदूतावासको प्राथमिकता र सहभागिताको आफ्नै संस्थागत मापदण्ड हुन सक्छ। हरेक निमन्त्रणामा राजदूत वा कार्यवाहक राजदूत स्वयं उपस्थित हुनुपर्छ भन्ने हाम्रो माग पनि होइन। तर नेपाली नागरिकको स्वास्थ्य, सुरक्षा, सामाजिक हित र मानवीय सरोकारसँग प्रत्यक्ष जोडिएका अभियानलाई कुन दृष्टिकोणले हेरिन्छ भन्ने कुरा स्पष्ट हुन आवश्यक छ।

 

कहिलेकाहीँ सामान्य मनोरञ्जनात्मक कार्यक्रम, टिकटक सेलिब्रेटीका जमघट, खादा–माला र सम्मानका समारोहमा राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति सहजै देखिन्छ। तर जब न्यून आयस्रोत भएका श्रमिकको स्वास्थ्य र हितसँग जोडिएको मानवीय अभियान आउँछ, त्यहाँ सहभागिताप्रति अनिच्छा देखिन्छ भने नागरिकले प्रश्न नगरे कसले गर्ने? आखिर राजदूतावासको प्राथमिकता औपचारिक निमन्त्रणाको प्रतिष्ठा हो कि नागरिकको वास्तविक आवश्यकता?

 

त्यसैले नेपाली राजदूतावासले आफ्नो सहभागिताको मापदण्ड र अभिभावकीय भूमिकाको दायरा सार्वजनिक रूपमा स्पष्ट पार्नु उचित हुनेछ। यसले भविष्यमा नेपाली संघसंस्थाहरूलाई पनि राजदूतावाससँग कस्तो प्रकारको सहयोग, सहभागिता र अभिभावकत्वको अपेक्षा गर्ने भन्ने विषयमा स्पष्टता दिनेछ। राजदूतावासले सबै कार्यक्रममा सहभागी हुन नसक्नु स्वाभाविक हुन सक्छ, तर कुन कार्यक्रम किन प्राथमिकतामा पर्छ र कुन पर्दैन भन्ने संस्थागत दृष्टिकोण भने नागरिकले बुझ्न पाउनुपर्छ।

 

हामीलाई तीन सेकेन्डको सम्बोधनप्रति कुनै गुनासो छैन। बरु त्यो तीन सेकेन्डको उपस्थितिभन्दा बाहिर रहेको अभिभावकीय जिम्मेवारीको प्रश्नले बढी महत्त्व राख्छ। किनकि कूटनीतिक समारोहमा नेपालको प्रतिनिधित्व गर्नु एउटा जिम्मेवारी हो भने विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकको सुखदुःखमा साथ दिनु त्योभन्दा कम महत्त्वपूर्ण जिम्मेवारी होइन।

 

राजदूतावास कुनै पदाधिकारीको व्यक्तिगत रुचि र अनिच्छाले चल्ने निजी संस्था होइन। यो राज्यको प्रतिनिधित्व गर्ने र विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको अभिभावकीय जिम्मेवारी वहन गर्ने निकाय हो। त्यसैले यसको उपस्थिति औपचारिकतामा मात्र होइन, नागरिकलाई आवश्यक परेको समयमा पनि अनुभूत हुनुपर्छ।

अन्ततः प्रश्न एउटै हो—नेपाली राजदूतावास कस्तो अभिभावक बन्न चाहन्छ? समारोहमा नेपालको नाम उच्चारण गर्ने अभिभावक कि आवश्यक परेको बेला नेपाली नागरिकको साथमा उभिने अभिभावक?

यो प्रश्नको जवाफ कार्यवाहक राजदूत कुमार राई वा राजदूतावासको कुनै एउटा प्रतिनिधिले मात्र होइन, समग्र संस्थागत व्यवहारले दिनुपर्छ। कतारमा रहेका आम नेपाली नागरिकले यही जवाफ खोजिरहेका छन्।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस