२०८३ कार्तिक १५ गते शनिवार | 2026 October 31st Saturday

जमियत उलामा-ए-नेपाल, दोहा-कतारको तेस्रो अधिवेशन सम्पन्न; मौलान अब्दुल खालिक कासमीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

 

कतारमा क्रियाशील नेपाली मुस्लिम समुदायको एक प्रमुख धार्मिक तथा सामाजिक संस्था जमियत उलामा-ए-नेपाल, दोहा-कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कतारको दोहास्थित गोरखाली रेस्टुरेन्टमा आयोजित अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

 

नेपालमा बाढी, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको यस संस्थाले कतारमा रहेका नेपाली समुदायको हित र सामाजिक सेवाका क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

 

संस्थामा कतारभरिबाट करिब २५० जना साधारण सदस्य आबद्ध रहेको बताइएको छ। संस्थाको विधान तथा वैधानिक व्यवस्थाअनुसार आन्तरिक मूल्याङ्कनका आधारमा २७ जना सदस्यलाई मताधिकार प्रदान गरिएको थियो। ती २७ जना मतदाताको सहभागितामा मतदान प्रक्रियामार्फत मुख्य पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको हो।

 

निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन मोहम्मद मुक्तदा मुसलमान, करिम बक्स मियाँ र इन्जिनियर इस्माईल पन्त सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

 

निर्वाचनबाट अध्यक्ष पदमा मौलाना अब्दुल खालिक कासमी, महासचिव पदमा मौलाना कारी आरिफ र कोषाध्यक्ष पदमा मौलाना मुमताज नदवी निर्वाचित भएका छन्। संस्थाको व्यवस्थाअनुसार निर्वाचित मुख्य पदाधिकारीहरूले कार्यसमितिका अन्य पदहरूमा आवश्यकताअनुसार सदस्यहरू मनोनयन गर्ने व्यवस्था रहेको छ।

 

अधिवेशनमा सहभागी वक्ताहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नयाँ नेतृत्वको सक्षम र सक्रिय भूमिकामा संस्थाले धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै नेपालमा प्राकृतिक विपद् आइपर्दा मानवीय सहायता, उद्धार तथा सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

कुरआन पाठबाट सुरु भएको कार्यक्रम दुआसहित समापन गरिएको थियो।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस