२०८३ कार्तिक १९ गते बुधवार | 2026 November 4th Wednesday

तीव्र गतिमा ९औँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी: साझेदार र प्रायोजकको व्यापक सहकार्य

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

सम्मेलनको मिति नजिकिँदै जाँदा विभिन्न प्रतिष्ठित व्यक्तित्व, व्यावसायिक प्रतिष्ठान तथा संस्थाहरूको साझेदारी र प्रायोजन थपिँदै गएपछि आयोजकहरूमा उत्साहसमेत बढेको छ।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका अधिकार, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा तथा नेपाली समुदायका साझा सरोकारलाई प्रमुखताका साथ उठाउने लक्ष्य राखेको छ। यसै उद्देश्यलाई सार्थक बनाउन संघका विभिन्न तहका पदाधिकारी, सामाजिक अभियन्ता, व्यवसायी तथा प्रतिष्ठित संस्थाहरूले आर्थिक, नैतिक र संस्थागत रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्मेलनको आयोजनालाई थप प्रभावकारी बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन ‘इभेन्ट पार्टनर’ का रूपमा जोडिएका छन्। त्यसैगरी, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष बुद्धिसागर सुवेदी ‘को–इभेन्ट पार्टनर’ तथा अर्का उपाध्यक्ष खगेन्द्र न्यौपाने ‘प्लाटिनम पार्टनर’ का रूपमा सहकार्यमा सहभागी भएका छन्।

सम्मेलनको मुख्य प्रायोजन अर्थात् ‘प्लाटिनम स्पोन्सर’ का रूपमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान तथा मध्यपूर्व क्षेत्रीय संयोजक एवं जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ जोडिएका छन्।

त्यस्तै, सम्मेलनलाई थप आर्थिक रूपमा सबल र प्रभावकारी बनाउन स्वास्थ्य, सामाजिक सेवा तथा गैरआवासीय नेपाली अभियानसँग आबद्ध प्रतिष्ठित व्यक्तित्व र संस्थाहरू ‘डायमण्ड पार्टनर’ का रूपमा अगाडि आएका छन्। नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा स्थापित काठमाडौँ मेडिकल कलेज (KMC) र त्यसका प्रमुख एवं समाजसेवी डा. सुनिल कुमार शर्मा डायमण्ड पार्टनरका रूपमा जोडिएका छन्। स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको संस्थाको यो सहकार्यलाई सम्मेलनका लागि महत्त्वपूर्ण समर्थनका रूपमा लिइएको छ।

गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि सक्रिय मध्यपूर्वका अभियन्ताहरूको सहभागिताले पनि सम्मेलनप्रतिको ऐक्यबद्धता थप बलियो बनाएको छ। एनआरएनए मध्यपूर्वका उपक्षेत्रीय संयोजक (DRC) पूर्ण पोखरिया र विकास शाही डायमण्ड पार्टनरका रूपमा जोडिएका छन्। यसैगरी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सह–सदस्य तुलसीराम पाण्डेले पनि डायमण्ड पार्टनरका रूपमा सहकार्य गरेका छन्।

संघको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय तहका पदाधिकारीदेखि स्वास्थ्य क्षेत्रका प्रतिष्ठित संस्था र व्यवसायिक व्यक्तित्वसम्मको सहभागिताले सम्मेलनप्रति व्यापक संस्थागत समर्थन जुट्दै गएको देखाएको छ। आयोजक समितिका अनुसार विभिन्न तहबाट प्राप्त भइरहेको सहयोगले सम्मेलनको तयारीलाई थप सहज बनाउनुका साथै कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने आधार तयार गरेको छ।

आयोजकले सम्मेलनलाई केवल औपचारिक जमघटमा सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीहरूको साझा सरोकार सम्बोधन गर्ने महत्त्वपूर्ण क्षेत्रीय मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, श्रम अधिकार, सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा, श्रमिकको सम्मान र भविष्यका सम्भावनाबारे सामूहिक छलफल गरी साझा धारणा तथा कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनको तयारीसँगै साझेदार तथा प्रायोजकहरू थपिने क्रम जारी रहनुले यस अभियानप्रति विभिन्न क्षेत्रको चासो र विश्वास बढ्दै गएको आयोजकको भनाइ छ। आयोजक समितिले सहकार्यका लागि अगाडि आएका सम्पूर्ण पदाधिकारी, व्यवसायी, संघसंस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि थप संस्थागत सहभागिता र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

विभिन्न देशमा रहेका नेपाली समुदायको सहभागिता, संस्थागत सहकार्य र साझा प्रतिबद्धतालाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई भव्यतासँगै मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउने गरी तयारी अघि बढाइएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस