२०८३ असोज ३ गते शनिवार | 2026 September 19th Saturday

कतारका नेपाली मुस्लिम समुदायद्वारा बाढीपीडितका लागि रु. ४१ लाखभन्दा बढी राहत हस्तान्तरण, कार्यक्रम पश्चात् विज्ञप्ति जारी

दोहा, कतार।
नेपालको उत्तरी सीमावर्ती क्षेत्र रसुवागढी तथा सो वरपरका भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ कतारस्थित नेपाली मुस्लिम समुदायको पहलमा सञ्चालित “नेपाल बाढीपीडित राहत अभियान” अन्तर्गत संकलित रु. ४१,०७,७२१।– (एकचालीस लाख सात हजार सात सय एकाइस रुपैयाँ) नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिन दोहामा एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
​विशेष कार्यक्रम सम्पन्न भएपश्चात् अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले अभियानमा सहकार्य गर्ने सम्पूर्ण नेपाली मुस्लिम संघ-संस्था, व्यवसायी, श्रमजीवी तथा सञ्चारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै औपचारिक विज्ञप्ति जारी गरेको छ।
​अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको मूल आयोजना तथा कतारमा क्रियाशील नेपाली मुस्लिम शान्ति समाज, फख्र मिल्लत फाउन्डेसन, नेपाल इस्लामिक ग्रुप, नेपाली मुस्लिम फाउन्डेसन धनुषा, रमौल मुस्लिम सेवा समाज, महोत्तरी मुस्लिम कमिटी संघ, नेपाली मुस्लिम परिषद्, मन्सुरी एकता मञ्च, नेपाल मुस्लिम एकता समाज, महदिय्या मुस्लिम युवा संघ कतार, इस्लामिक सेवा समाज रौतहट र फिक्रे नेपाल लगायत सम्पूर्ण नेपाली मुस्लिम संघ–संस्थाहरूको सामूहिक सहकार्यमा सो रकम संकलन गरिएको हो।
​अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सुरुआत आसन ग्रहणपछि कुरान वाचन र राष्ट्रिय गानबाट भएको थियो। उपाध्यक्ष जहागीर आलमले स्वागत मन्तव्य राखेका थिए भने महासचिव मौलाना नाजीर मियाँले बाढीबाट भएको क्षति, राहत अभियान र हालसम्मको आर्थिक विवरण प्रस्तुत गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए।
​कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा समाजका प्रमुख संरक्षक मोहम्मद मुक्तदा मुसलमानले राहत अभियानलाई निरन्तरता दिँदै दीर्घकालीन सामाजिक परियोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै सम्बन्धित नेपाली मुस्लिम संघ–संस्थाहरू समेटिएको संयुक्त बोर्ड गठनको प्रस्ताव राखे। समाजका संरक्षक मोहम्मद अजिज अलीले संस्थालाई थप व्यापक र सुदृढ बनाउँदै सामाजिक सेवाका कार्यक्रमहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। त्यसैगरी संरक्षक करिम बक्स मियाँले प्रस्तावित दीर्घकालीन परियोजनाको अवधारणा प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक आत्मनिर्भरतासँग जोडिएका कार्यक्रमहरूको आवश्यकता औंल्याए। अध्यक्ष अजमत अलीले न्यूनतम १ करोड रुपैयाँको प्रारम्भिक कोषबाट सुरु गरिने ‘चेन कमान परियोजना’ (सामुदायिक आत्मनिर्भरता तथा आर्थिक सशक्तीकरण परियोजना) बारे जानकारी दिँदै कृषि, प्रशोधन, उत्पादन र बजारीकरणको दिगो प्रणाली निर्माण गरी विपन्न विद्यार्थीलाई शिक्षा र स्वास्थ्य सहायता पुर्याउने लक्ष्य रहेको बताए।


​कार्यक्रम सम्पन्न भएपश्चात् अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज, कतारद्वारा आधिकारिक रूपमा जारी गरिएको विज्ञप्ति अनुसार, उत्तरी सीमावर्ती क्षेत्रका बाढीपीडित नागरिकहरूलाई तत्काल सहयोग पुऱ्याउने उद्देश्यले सञ्चालित अभियानमार्फत संकलित ४१ लाख ७ हजार ७२१ रुपैयाँ पूर्ण पारदर्शिताका साथ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको र सहयोग संकलन अझै निरन्तर जारी रहने जनाइएको छ। विज्ञप्तिमा अभियान सफल बनाउन खटिने सम्पूर्ण आयोजक, सहयोगी नेपाली मुस्लिम संघ-संस्था, व्यवसायी, श्रमजीवी दाजुभाइ-दिदीबहिनी, स्वयंसेवक तथा मिडियाकर्मीहरूप्रति उच्च सम्मान र धन्यवाद व्यक्त गरिएको छ। साथै, तत्कालीन राहतसँगै “योगदानबाट पूँजी, पूँजीबाट उत्पादन, उत्पादनबाट आम्दानी, आम्दानीबाट समुदायको विकास” भन्ने मूल ध्येयका साथ १ करोड रुपैयाँको सामुदायिक कोष निर्माण गरी दिगो सशक्तीकरणका कार्यक्रम अघि बढाउने भावी सोच प्रस्तुत गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस