२०८३ मङ्सिर २ गते मङ्गलवार | 2026 November 17th Tuesday

‘Pyre’ : चलचित्रको कथाभित्र मैले आफ्नै बा भेटेँ

कहिलेकाहीँ चलचित्र हेरिन्छ, कथा बुझिन्छ र मनोरञ्जन लिएर उठिन्छ। तर केही चलचित्र यस्ता हुन्छन्, जसले दर्शकलाई केवल कथा देखाउँदैनन्, बरु आफ्नै जीवनको कुनै बिर्सन नसकेको अध्यायमा पुर्‍याइदिन्छन्। मनको गहिराइमा वर्षौंदेखि दबिएर बसेका सम्झनाहरू ब्युँझाउँछन् र आफूले भोगेको पीडासँग फेरि साक्षात्कार गराउँछन्।

भारतीय चलचित्र ‘Pyre’ हेरेपछि मैले यस्तै अनुभूति गरेँ।

हिमालयको दुर्गम पहाडी गाउँ, रित्तिँदै गएका बस्ती, सहरतिर आकर्षित हुँदै गाउँ छाडेका सन्तान र गाउँमै एक्लो जीवन बिताइरहेका वृद्ध दम्पती पदम सिंह र तुलसी। उनीहरूको दैनिकी, एक्लोपन, सन्तानको अनुपस्थिति र फर्किने आशामा बितिरहेको जीवन चलचित्रको मूल कथा हो।

वृद्ध दम्पतीका लागि सन्तानको प्रतीक्षा केवल कसैको आगमनको प्रतीक्षा होइन, जीवनको उत्तरार्धमा आफ्ना सन्तानको साथ र आत्मीयता पाउने आशा पनि हो। छोराको फर्किने खबरले उनीहरूको मनमा पलाएको खुसी र अपेक्षाअनुसार पुनर्मिलन हुन नसक्दाको पीडाले चलचित्रलाई अझ मार्मिक बनाएको छ।

चलचित्रका कतिपय दृश्य र संवाद बुझ्न मलाई कठिन भयो। तर कथा अगाडि बढ्दै जाँदा म पर्दामा देखिएका पात्रहरूलाई मात्र हेरिरहेको थिइनँ। वृद्ध दम्पतीको एक्लोपन र सन्तानको प्रतीक्षाभित्र कतै आफ्नै बाको अनुहार खोजिरहेको थिएँ।

चलचित्रको कथा र मेरो जीवनको कथा एउटै होइन। पात्रहरूको परिस्थिति र मैले भोगेको परिस्थितिमा भिन्नता छ। तर सन्तानको प्रतीक्षा, बिछोडको पीडा र जीवनको अन्तिम घडीमा आफ्ना प्रियजनको साथ पाउन नसक्नुको वेदना भने कतै न कतै जोडिँदो रहेछ। सायद यही समान अनुभूतिले मलाई चलचित्रको कथाभित्र आफ्नै जीवनको एउटा पात्र बनाइदियो।

म पनि प्रदेशमा बसेको ३२ वर्ष भइसकेछ। जीवनका धेरै महत्त्वपूर्ण समय घरपरिवारबाट टाढा रहेर बिताएँ। घर जाने र फर्किने क्रम चलिरह्यो। परिवारको सुख, भविष्य र जिम्मेवारीका लागि प्रदेशको जीवन रोजियो। घरबाट टाढा हुनु रहर थिएन, बाध्यता थियो। समय बित्दै गयो, वर्षहरू थपिँदै गए र जीवन आफ्नै गतिमा अगाडि बढिरह्यो।

तर जीवनमा एउटा यस्तो क्षण आयो, जहाँ चाहेर पनि आफ्नै बाको अन्तिम समयमा साथ दिन सकिनँ।

कोरोनाकालको विश्वव्यापी महामारी र लकडाउनका कारण संसार नै ठप्प थियो। आवतजावत बन्द थियो। त्यही समयमा मेरा बा बिरामी पर्नुभयो। स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर हुँदै गयो। म मात्र होइन, मेरा बाका दुई छोरा र एक नाति प्रदेशमै फसेका थियौँ। घर फर्किने तीव्र इच्छा थियो, बालाई भेट्ने ठूलो चाहना थियो, तर परिस्थितिले हामीलाई विवश बनाएको थियो।

आज पनि बाको मृत्यु हुनुभन्दा ठीक दुई दिनअघिको अन्तिम फोन संवाद झल्झली सम्झन्छु।

थलिनुभएका मेरा बा अर्धचेत अवस्थाबाट फोनमा भन्दै हुनुहुन्थ्यो,

“कान्छा, दूतावासमा गएर त्यहाँको हाकिमसँग मेरो कुरा गरा त, म उनलाई मेरा छोराहरूलाई छिटो पठाइदिन भन्छु।”

बाका ती शब्द सम्झँदा आज पनि मन भारी हुन्छ। सायद उहाँलाई लागिरहेको थियो, दूतावासका हाकिमसँग कुरा गरेपछि छोराहरूलाई छिट्टै घर पठाउने व्यवस्था हुन सक्छ। उहाँ आफ्ना छोराहरूलाई भेट्न आतुर हुनुहुन्थ्यो। आफ्नो स्वास्थ्य अवस्थाको गम्भीरता महसुस गरिसक्नुभएको थियो कि थिएन, त्यो त थाहा छैन। तर छोराहरूलाई छिट्टै भेट्ने चाहना उहाँका शब्दमा स्पष्ट सुनिन्थ्यो।

फोन राख्नुअघि बाले अन्तिममा भन्नुभएको अर्को वाक्य आज पनि मेरो कानमा गुञ्जिरहन्छ,

“आउने बेला उँटको मासु लिएर आइज है कान्छा!”

कति सामान्य थियो त्यो वाक्य! तर आज सम्झँदा त्यही सामान्य वाक्यले मुटु चिरिन्छ।

बालाई सायद लागिरहेको थियो, छोरा घर आउँछ, आफूले मन पराएको खानेकुरा लिएर आउँछ र परिवारका बीचमा फेरि भेट हुन्छ। तर उहाँलाई के थाहा, त्यो फोन संवाद नै हामीबीचको अन्तिम संवाद बन्नेछ भनेर!

बाले अन्तिमपटक माग्नुभएको उँटको मासु त पुर्‍याउन सकिनँ, उहाँलाई भेट्न पनि पुग्न सकिनँ। उहाँले आफ्ना छोराहरूको बाटो हेर्दै शय्याबाटै संसार छाड्नुभयो। हामीले उहाँको हात समात्न पाएनौँ, अनुहार हेर्न पाएनौँ र अन्तिम बिदाइसमेत दिन सकेनौँ।

‘Pyre’ मा वृद्ध दम्पतीले सन्तानको बाटो हेरेको दृश्यले मलाई आफ्नै बाको त्यो प्रतीक्षा सम्झाइरह्यो। चलचित्रका पात्रहरू र मेरो जीवनका घटना फरक भए पनि प्रतीक्षाको पीडा भने उस्तै लाग्यो। पर्दामा देखिएको एक्लोपनभित्र मैले आफ्नै बाको अनुहार र उहाँका अन्तिम दिनहरूको वेदना भेटेँ।

चलचित्र हेर्दा मलाई लाग्यो, संसारका कतिपय गाउँमा आज पनि यस्तै दृश्य दोहोरिइरहेका होलान्। कतै वृद्ध आमाबुबा सन्तानको प्रतीक्षामा दिन बिताइरहेका होलान्। कतै सन्तान रोजगारी र पारिवारिक जिम्मेवारीका कारण विदेशमा अल्झिएका होलान्। भौगोलिक दूरी, आर्थिक अभाव, कानुनी प्रक्रिया वा आकस्मिक परिस्थितिले चाहेर पनि परिवारलाई एक ठाउँमा हुन नदिएको होला। कतै आमाबुबा सन्तानको अनुहार हेर्ने आशामै संसार छाडिरहेका होलान् भने कतै सन्तानले अन्तिम बिदाइ गर्न नपाएको पीडा जीवनभर बोकेर बाँचिरहेका होलान्।

हामी प्रदेशमा बसेर परिवारको भविष्य बनाउने सपना देख्छौँ। पसिना बगाउँछौँ, कमाउँछौँ, घर बनाउँछौँ र छोराछोरीको भविष्य सुरक्षित गर्ने प्रयास गर्छौँ। तर जीवनका केही यस्ता क्षण आउँछन्, जहाँ परिवारलाई हाम्रो कमाइ, उपहार वा भौतिक सुविधाभन्दा हाम्रो उपस्थिति चाहिएको हुन्छ। आमाबुबाका लागि सन्तानको केहीबेरको साथ, आत्मीय कुराकानी र सँगै बसेर खाना खाने अवसर नै अमूल्य हुँदो रहेछ।

तर जीवन सधैँ हाम्रो इच्छाअनुसार चल्दैन। कहिलेकाहीँ जिम्मेवारीले टाढा पुर्‍याउँछ, परिस्थितिले फर्किन दिँदैन र समयले पर्खिने अवसरसमेत दिँदैन। भविष्यका लागि वर्तमानका धेरै खुसीहरू पछि सार्दै गर्दा कहिलेकाहीँ ती खुसीहरू फेरि कहिल्यै फर्केर आउँदैनन्।

कोरोनाकालमा हामी घर जान चाहन्थ्यौँ, बासँग भेट्न चाहन्थ्यौँ, तर जान सकेनौँ। त्यो हाम्रो इच्छाको कमी थिएन, समय र परिस्थितिको कठोर बाध्यता थियो। त्यसैले यस्ता घटनालाई कसैको कमजोरी वा दोषका रूपमा मात्र हेर्नुभन्दा मानिसलाई विवश बनाउने परिस्थितिको पीडा बुझ्नु आवश्यक छ। किनकि कतिपय बिछोडमा कसैको चाहना हुँदैन, तर त्यसको पीडा भने जीवनभर रहिरहन्छ।

‘Pyre’ हेर्दा मैले चलचित्रका सबै कुरा बुझिनँ होला। तर त्यसले मेरो मनमा उठाएको भावना र पीडालाई शब्दमा व्यक्त गर्न गाह्रो भइरहेको छ। चलचित्र सकियो, पर्दा फेरियो, तर मेरो मनमा त्यसका दृश्यहरू चलिरहे। म बारम्बार आफ्नै बासँगको अन्तिम फोन संवादमा फर्किरहेँ।

सायद चलचित्रको सफलता दर्शकलाई रुवाउनु मात्र होइन, उसलाई आफ्नै जीवनका ती पानाहरू पल्टाउन बाध्य बनाउनु पनि हो। ‘Pyre’ ले मलाई त्यही गर्‍यो। चलचित्रको कथा मेरो थिएन, तर त्यसको भावनाले मलाई आफ्नै कथाभित्र पुर्‍यायो। वर्षौंदेखि मनको कुनामा दबिएर बसेको पीडालाई फेरि सतहमा ल्याइदियो।

आज पनि मनमा एउटा अधुरो चाहना छ— काश! बाले अन्तिमपटक भन्नुभएको त्यो उँटको मासु बोकेर उहाँको अगाडि पुग्न सकेको भए! उहाँको हात समातेर केहीबेर बस्न पाएको भए! अन्तिमपटक ‘बा’ भनेर बोलाउन र उहाँको आवाज सुन्न पाएको भए!

तर जीवनमा सबै ‘काश’ हरु पूरा हुँदैनन्। कतिपय प्रतीक्षा अधुरै रहन्छन्, कतिपय भेटघाट हुन पाउँदैनन् र कतिपय बिदाइ जीवनभरिका लागि पीडादायी सम्झना बनेर रहन्छन्।

मेरा बा अब यो संसारमा हुनुहुन्न। तर उहाँसँगको अन्तिम फोन संवाद, दूतावासका हाकिमसँग कुरा गरिदिन गर्नुभएको आग्रह र अन्तिममा भन्नुभएको “आउने बेला उँटको मासु लिएर आइज है कान्छा!” भन्ने वाक्य मेरो स्मृतिमा सधैँ जीवित रहनेछन्।

‘Pyre’ हेरेपछि मैले आफ्नै बा सम्झिएँ। चलचित्रको कथा मेरो थिएन, तर त्यसको पीडाले मलाई आफ्नै जीवनको अधुरो अध्यायमा पुर्‍यायो। पर्दामा देखिएको प्रतीक्षाभित्र मैले आफ्नै बाको अन्तिम प्रतीक्षा भेटेँ।

अल्लाह तआलासँग दुआ छ, मेरा बालाई जन्नतुल फिरदौसमा उच्च स्थान प्रदान होस्

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस