दोहा ।पर्वत जलजला समाज कतारको दोस्रो अधिवेशनबाट पुनः देवराज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। प्रवासमा रहेका पर्वतवासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजित अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर खत्री चयन भएका छन् भने उपाध्यक्षद्वयमा अम्बरबहादुर जिसी र बेलबहादुर कार्की रहेका छन्। त्यस्तै, महासचिवको जिम्मेवारी बाबुराम नेपालीले पाएका छन् भने सचिवमा दिनेश मल्ल चयन भएका छन्।
समाजको कोषाध्यक्षमा क्षेत्रबहादुर जिसी र सहकोषाध्यक्षमा कर्णबहादुर परियार सर्वसम्मत चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा लोकबहादुर खत्री, सदीप भण्डारी, फौदबहादुर कार्की, निलकण्ठ सुवेदी, रवि मल्ल, दिलबहादुर खत्री, रितबहादुर नेपाली, बुद्धिमान नेपाली र लालबहादुर क्षेत्री चयन भएका छन्। पुनः अध्यक्षमा दोहोरिएका कार्कीले कतारमा कार्यरत पर्वतवासीहरूको हकहित, आपसी सहयोग र जन्मभूमिको सामाजिक विकासमा थप सक्रिय भूमिका खेल्ने बताएका थिए ।
पर्वत जलजला समाज कतारका अध्यक्ष देवराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल पर्वत समाजका मध्यपूर्व संयोजक रघुनाथ शर्मा प्रमुख अतिथि रहेका थिए । सचिव बाबुराम नेपालीले सहजीकरण गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्कीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
