२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत ढकालसँग परिचयात्मक भेटघाट सम्पन्न

दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा कतारका लागि नवनियुक्त राजदुत डा.नरेश बिक्रम ढकालको स्वागत तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ लगायत कतारका विभिन्न ठाउँमा छरिएर रहेका पत्रकारहरु मध्ये करिव डेढ दर्जन पत्रकारहरुको उपस्थितिमा नेपाली दुताबास स्थित सभाहलमा परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न भएको हो।जसमध्ये विभिन्न मिडियामा आबद्ध पत्रकारहरु क्रान्ति सिंह,दिपजंग शाह,राम प्रसाद पराजुली,गणेश क्षेत्री,अर्जुन पौडेल,दिलिप पराजुली,कविता खत्री,साबित्रा लामिछाने, बिमल परियार,राम इकवाल राम,रमेश भट्टराई, खेमराज सुवेदी,बिकास गैरे लगायतका रहेका थिए।

कतार शाखाका सचिव अर्जुन पौडेलद्वारा सहजीकरण गरिएको भेटघाट कार्यक्रममा उपस्थित सम्पुर्णले आफ्नो परिचय सहित कतारमा कार्यरत नेपालीहरुका अभिभावक राजदुत डा. नरेश विक्रम ढकालको स्वागत तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

परिचयात्मक कार्यक्रममा बोल्दै पत्रकार महासंघ कतार शाखा का अध्यक्ष मियाँले कतारमा रहेका श्रमजीवी पत्रकारहरूलाई समान स्थान दिन आग्रह गरेका थिए।उनले कतारमा नेपाली कामदारहरुलाई ल्याउने क्रममा अझै पनि ब्यबधान र अप्ठेरा परिस्थितिका कारण नेपाली श्रमिकलाई प्रत्यक्ष असर परेको जनाउदै सूक्ष्म निगरानी गर्दै दुताबास अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।त्यसैगरी नेपाली श्रमिक हरुको हकहितका लागि कुनै पनि अवस्थामा नेपाल पत्रकार महासंघ पनि दुताबास संगै रहने प्रतिबद्धता समेत जनाएका थिए।
दुताबासका द्वितीय सचिव प्रबिन भट्टराईले बिगतका दिनहरुमा कतारमा रहेका नेपाली संघ संस्था,दुताबास संगको सम्बन्ध, नेपाली कामदारका बारेमा लगायत विभिन्न बिषयमा स्पष्ट पारेका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै राजदुत ढकालले हामी सबैको लक्ष्य नेपाली समाजको उन्नती प्रगती तथा नेपाल र कतार बिच दुई देशको सम्बन्ध थप मजबुत र प्रगाढ बनाउने भएकोले पत्रकार पनि स्वयं अघोषित दुत रहेको बताएका थिए।सम्पुर्ण संघ संस्थाहरुको फरक कार्यशैली भएता पनि लक्ष्य नेपाली समाजलाई सुसूचित तथा सभ्य समाज निर्माण गर्नु हो त्यसैले हामी सबैले आफ्नो उदेश्य, कर्तब्य र जिम्मेवारीलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताउदै नेपाल पत्रकार महासंघ कतार संगै नेपाली दुताबास समेत रहेको बताएका थिए।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस