२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

श्रीलंकालाई पच्छ्याउँदै पाकिस्तान : ऋण दायित्व ५०५ खर्ब नाघ्यो, कर्जा डिफल्ट स्वाप ९ वर्षकै उच्च

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आइतबार थोरै भएपनि राहत मिलेको छ । उनी विरुद्धको अविश्वासको प्रस्ताव खारेज भएको छ । संसदका उप–सभामुख कासिम खान सुरीले खानले हार्ने निश्चित भएको अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै खारेज गरिदिएका थिए ।

विपक्षी दलहरुले संसदको कदमलाई असंवैधानिक भन्दै विरोध गरिरहेका छन् । यसको विरुद्धमा प्रतिपक्ष दलहरुले सर्वोच्च अदालतसमक्ष पुगेका छन् ।

खानको अनुरोधमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरिदिएका छन् । अविश्वासको प्रस्ताव खारेज भएपछि अनिश्चय भने चुलिएको छ । पाकिस्तानमा नयाँ राजनीतिक र संवैधानिक अनिश्चिय उत्पन्न भएको छ । ९० दिनभित्र निर्वाचन हुने भएको छ । खानले सर्वसाधारणहरुलाई सम्बोधन गर्दै चुनावको तयारी अगाडि बढाउने घोषणा गरेका छन् ।

विपक्षी दलका नेताहरुले खानलाई अर्थतन्त्रलाई ब्यूताउन असफल भएको अनि भ्रष्टाचारमाथि अंकुश लगाउन नसकेको आरोप लगाउँदै खाएका छन् । तर खानले भने आफूलाई हटाउने अन्तरराष्ट्रिय स्तरबाटै षडयन्त्र भइरहेको भन्दै अमेरिकामाथि दोष लगाउँदै आएका छन् ।

अहिले पाकिस्तानी अर्थतन्त्रको लागि मुख्य जोखिम घरेलु राजनीति बनेको छ । सरकार र प्रतिपक्ष दलबीचको खिचातानी र पछिल्लो समय उत्पन्न संवैधानिक संकटका कारण कमजोर आर्थिक पुनःबहाली धरापमा परेको छ । पछिल्लो समय पाकिस्तानले विभिन्न देशमा रहेका दूताबासका कर्मचारीहरुलाई तलब खुवाउन नसकेको खबरहरु बाहिर आएको छ ।

पाकिस्तानको वित्तीय अवस्था अहिले खासै राम्रो छैन । सरकारको कूल कर्जा र दायित्व ५०५ खर्ब (पाकिस्तानी) रुपयाँ छ । वर्तमान प्रधानमन्त्री इमरान खान नेतृत्वमा आएयता कर्जा करीब २०० खर्ब  रुपयाँले बढेको छ । चालु खाता घाटा जीडीपीको ४ दशमलव ७ प्रतिशतमा उक्लिएको छ । यो सरकारले तय गरेको लक्ष्य भन्दा निकै धेरै हो । अमेरिकी डलरको तुलनामा रुपयाँको भाउ घटेर प्रतिडलर १८९ रुपयाँ तल आएको छ ।

मार्चमा महँगी बढेर १२ दशलमव ७ प्रतिशतमाथि उक्लिएको छ । कुखुरा, फलफूल, तोरीको तेल आदिको भाउ आकाशिएको छ । राजनीतिक उथलपुथलका कारण कर्जा र ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुग्ने जोखिम बढेको छ ।

गएको शुक्रबार रुपयाँको तुलनामा डलरको भाउ शून्य दशमलव ७ प्रतिशतले महँगो भएर  १८९ रुपयाँ २५ पैसामा उक्लिएको थियो । बिहीबार पनि डलर ३ दशमलव १ प्रतिशतले महँगो भएको थियो ।

गएको एक हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति २ अर्ब ९१ करोड ५० लाख डलरले घटेको छ । मार्च २५ मा सकिएको हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति १८ अर्ब ५५ करोड ४० लाख डलरमा झरेको छ । यो आर्थिक वर्ष २०२१ को अन्त्ययताकै थोरै हो । यसले करीब साढे २.५ महीनाको आयात धान्न पुग्नेछ ।

पाकिस्तानको कर्जा डिफल्ट स्वाप सन् २०१३ यताकै उच्च स्तरमा उक्लिएको छ । यसको अर्थ पाकिस्तानले कर्जादाताहरूलाई तिर्नुपर्ने ऋण र ब्याज भुक्तानी गर्न नसक्ने जोखिम ९ वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ । यसको अर्थ पाकिस्तानले ऋण तिर्ने क्षमता थप गुमाउँदै गएको छ र यो अवस्था थप खस्किँदै गयो भने पाकिस्तानको हविगत पनि छिटै श्रीलंकाको जस्तै हुने विज्ञहरूको आंकलन छ ।

स्रोत : https://www.abhiyandaily.com

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस