२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

प्रवासी भुजेल समाज कतारको १४औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न

दोहा-प्रवासी भुजेल समाज कतारले १४औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।

जनजाति महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष विकास भुजेलको अध्यक्षतामा १४औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो।

ब्यानर अनावरण, दीप प्रज्वलन सहित केक काटेर समुद्घाटन गरिएको कार्यक्रममा विष्णु भुजेल र मिना भुजेलले स्वागत नृत्य राखेका थिए ।

चेलीबेटी भेटघाट अन्तर्गत कार्यक्रमको सुरुवातमै चेलीबेटी अत्तिथीहरुलाई दोसल्ला ओढाएर सम्मानसहित स्वागत गरिएको थियो ।

कार्यक्रममा समाजको स्थापना कालदेखि वर्तमान सम्मका संस्थागत प्रगती, चुनौती र सम्भावनाका बारेमा समाजका संरक्षक शिव भुजेलले प्रष्ट्याएका थिए ।

समाजका संरक्षक नियम भुजेलले समाजले नेपालदेखि कतारसम्म शिक्षा स्वास्थ्यसहित सामाजिक क्षेत्रमा सहयोग र सहकार्य गर्दै आइरहेको बताए ।

गायिका सरला तामाङ, मानसिंह परियार, गुना मगर, रमजान मियाँ, एन्जल राई, बाबु कौशल सञ्जीव, सोम विश्वकर्मा, नृ्त्यङ्गना शर्मिला भुजेल, विष्णु भुजेलले प्रस्तुति दिएका थिए । विष्णु भुजेलले र नवीन बाबुले कविता वाचन गरेका थिए । धन बहादुर भुजेलको कमेडी नृत्य अर्को आकर्षण बन्यो ।

कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि मगरले श्रमिकका समस्या र पासपोर्ट सलटका बारेमा दूतावासलाई झकझकाउने प्रमुख काम राजनीतिक दलको रहेको र त्यसका लागि दल सक्रिय भएर लाग्न सुझाव दिए ।

उनले कतारमा देखिएका केही विकृतिप्रति लक्षित गर्दै समस्या परेमा कतारमा रहेका कुनैपनि संस्था या व्यक्ति समक्ष राख्न कोही नडराउन आग्रह गरे ।

भुजेल समाजले महिलाहरूका लागि सराहनिय कार्यक्रम गरेको बताउँदै प्रमुख अतिथि मगरले जनजाति महासंघ भित्रका मातृ संस्थाका महिला नेतृ तथा प्रतिनिधिलाई विशेष समय दिएर आफ्ना भनाइहरू अभिव्यक्त गर्न दिएकोमा प्रशंसा गरे ।

समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव दुर्गा भुजेल र महिला संयोजक शारदा भुजेलले मिलेर सहजीकरण गरेका थिए । कार्यक्रममा तमु (गुरुङ) समाज कतारले आयोजक भुजेल समाजलाई कोसेली उपहार स्वरूप प्रदान गरेको थियो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भुजेलले अग्रजहरूको मार्ग निर्देशनमा लागेर सिक्दै अगाडि बढ्दै आउँदा आज आफू नेतृत्वमा आइपुगेको स्मरण गर्दै उनले कतारमा नयाँ आएका र छुटेका पुराना पुस्तालाई समाजमा जोडिन आग्रह गरे । उनले कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरे ।

१३ सेप्टेम्बर २०१० मा ‘भुजेल जातिको विकास र उन्नतिको आधार सांस्कृतिक चेतना शिक्षा र रोजगार’भन्ने नारा लिएर समाजको स्थापना गरिएको थियो ।

अन्त्यमा कार्यक्रमकी सञ्चालिका भुजेललाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम शुक्रबार ग्रान्डमलको वेलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस