
दोहा । लोकप्रिय रियालिटी शो मेरो भ्वाइस युनिभर्स–२ को फाइनलमा पुगेकी प्रतिभाशाली नेपाली गायिका जुनु प्रसाई (मुन) लाई जिताउन कतारका नेपाली समुदाय सक्रिय बनेका छन्। लोकदोहोरी प्रतिष्ठान कि केन्द्रीय सदस्य समेत रहेकी प्रसाईलाई प्रतिष्ठानकै संयोजकत्वमा विभिन्न सक्रिय माध्यमबाट सहयोगको अभियान सुरु गरिएको छ।
पूर्वाञ्चलकी स्थायी बासिन्दा र हाल मध्यपूर्व कतारलाई कर्मथलो बनाउँदै आफ्नो गायन कलालाई सक्रिय बनाउँदै आएकी गायिका प्रसाई उत्कृष्ट प्रस्तुतिका कारण प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएकी हुन्। उनको मधुर स्वर, लोक तथा आधुनिक गीतमा समान दक्षता र दर्शक–श्रोताको मन जित्ने क्षमता नै आज उनको लोकप्रियताको प्रमुख कारण बनेको छ।
यसैक्रममा, सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्मको माध्यममार्फत ‘जुनु प्रसाईलाई जिताऔं अभियान’ सुरु गरिएको छ। कतार, दुबई, सउदी, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिका लगायत मुलुकमा रहेका नेपालीहरूले समूहगत रूपमा समर्थन जनाउँदै निरन्तर भोटिङ अभियान चलाइरहेका छन्।
कतारमा लोकदोहोरी प्रतिष्ठानले प्रमुख जिम्मवारीका साथ जुनु प्रसाई जिताउ अभियान आगाडि बढाएको छ भने नेपालभित्र पनि विभिन्न संघ–संस्था, कलाकार, गायक–गायिका, लेखक तथा साहित्यकारहरूले प्रसाईको पक्षमा खुलेर समर्थन गरेका छन्। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता सामाजिक सञ्जालमा हजारौं नेपालीहरूले स्टाटस, भिडियो र प्रचार सामाग्री सेयर गर्दै उनलाई भोट गर्न आह्वान गरिरहेका छन्।
प्रसाईलाई भोट दिने प्रक्रिया निकै सरल यस प्रकार छ।
मोबाइल प्रयोगकर्ताले MY INTRA App डाउनलोड गरी Mero Voice Universe मा गएर Contestant’s Profile खोली Junu Prasai रोजेर भोट गर्न सकिन्छ।
नेपालमा रहेका दर्शकहरूले भने SMS मार्फत MVU 06 टाइप गरी 37000 मा पठाएर आफ्नो समर्थन जनाउन सक्नेछन्।
अन्तिम प्रतिस्पर्धा अर्थात् Grand Finale आगामी भदौ ६ गते, २३ अगस्ट २०२५ मा सम्पन्न हुनेछ। त्यससम्म निरन्तर भोटिङ लाइन खुला रहने आयोजकहरूले जानकारी दिएका छन्।
‘जुनु प्रसाईलाई जिताऔं अभियान’ का संयोजकहरूले , “जुनु प्रसाईको मधुर स्वर र उनको जित नेपाली संगीतको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको छ। त्यसैले जहाँ जसरी सकिन्छ, सबै नेपालीले आफ्नो अमूल्य भोटमार्फत सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेका छन्।” कार्यकमका निर्णायक हरूले समेत प्रतिभाशाली जुनु प्रसाईलाई नेपाली संगीतको साझा गौरव बन्नेमा सबै आशा व्यक्त गरेका छन् ।