२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

ग्राण्डमल सभाहलमा भव्य कार्यक्रम, ९० को दशकका गीतले दर्शकलाई झुमाउने

दोहा, २५ सेप्टेम्बर – दशैंको अवसर पारेर कतारमा नेपाली तथा दक्षिण एसियाली समुदायलाई लक्षित गरी ‘ब्याक टु ९०’स स्टार नाइट २०२५’ नामक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। दोहा वोएब्स इभेन्ट्स एण्ड प्रोडक्सनको आयोजनामा हुने कार्यक्रममा नेपाली, भोजपुरी र मैथली कलाकारहरूको संयुक्त प्रस्तुति रहनेछ।

नेपालका चर्चित गायक कर्णदास, पछिल्लो पुस्तामाझ स्टेज किंग भनेर चिनिने दुर्गेश थापा, साथै मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्ड जस्ता ९० को दशकका लोकप्रिय ब्याण्डहरूले प्रस्तुति दिनेछन्। ती ब्याण्डहरूले ‘जिन्दगीको के भरोसा’, ‘अनौठो बेथा भएछ’, ‘ठुला ठुला महल हैन’, ‘बस सुन्दरी’, ‘यो जिन्दगानी’, ‘पहिलो नजर अनि पहिलो भेट’ लगायतका गीत प्रस्तुत गर्ने जनाइएको छ।

यसपटकको विशेष आकर्षण नायिका, मोडल, नृत्याङ्गना तथा साहसिक आरोही कविता नेपाली रहनेछिन्। बुगी–उगी रियालिटी शोकी विजेता, रोडीज सिजन–७ की जज तथा २४ घण्टामै सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पर्वतारोहीको रूपमा परिचित उनी पहिलोपटक कतारमा प्रस्तुति दिने भएकी हुन्।

त्यस्तै, गायिका सृजना खत्रीले ‘मेरो एक्स छम्म’, ‘हाउडेमाया’ लगायतका गीत गाउनेछिन् भने गायक दुर्गेश थापा कतारमा पहिलोपटक बाह्य कार्यक्रममा प्रस्तुत हुँदै आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। मैथली–भोजपुरी क्षेत्रका कलाकार सानु कुमार, प्रिती पाश्वान, सुभी शर्मा र सपना चौहानका प्रस्तुति पनि रहनेछन्।

कार्यक्रम सनैयास्थित ग्राण्डमल एमपीथ्रीएटर सभाहलमा हुनेछ। करिब १० हजार दर्शकको उपस्थिति हुने अनुमान आयोजकले गरेका छन्। गेट दिउँसो ३:३० बजेदेखि खुला हुने र राति ११ बजेसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ। सुरक्षाका लागि करिब २५० जना स्वयंसेवक तथा सुरक्षा कर्मी खटिनेछन्। जसमा नेपाली फिटनेस टिमले स्वयंसेवकको रूपमा सहयोग गर्नेछ।

टिकट दर गोल्ड ४०, प्लेटिनियम ६०, भिआइपी ८० र रेड कार्पेट २०० कतारी रियल तोकिएको छ। अर्ली बर्ड्सका लागि रेड कार्पेट टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने टिकट विभिन्न सपिङ मल, अनलाइन प्लेटफर्म र कार्यक्रम स्थलमा उपलब्ध थुप्रै काउन्टरहरूबाट समेत खरिद गर्न सकिनेछ, जसले गर्दा कार्यक्रमको दिन पनि टिकट सहजै उपलब्ध हुनेछ।

कार्यक्रमबारे बुधबार दोहास्थित होटल भीआईपीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो। संयोजक रोशन अर्यालले नेपाली समुदायलाई एकजुट गर्दै सांस्कृतिक उत्सवका रूपमा कार्यक्रम आयोजना गरिएको बताए। नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष दिलकुमार श्रेष्ठ, सामुदायिक अगुवा सागर नेपाललगायतले कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले कार्यक्रमको व्यवस्थापन र नेपाली संस्कृतिको प्रवर्द्धनमा आयोजकको प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै आयोजकले एम्बुलेन्स, मेडिकल टिम तथा सिक्युरिटी भोलन्टियरको व्यवस्था गरिएको स्पष्ट पारेका थिए। साथै, दर्शकलाई कुनै पनि समुदाय, ब्यान्ड, समूह वा देशको झण्डा लिएर कार्यक्रमस्थलमा प्रवेश नगर्न अनुरोध गरिएको थियो।

प्रोड्युसर मो. तयैवाले हालै नेपालमा भएको आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, कार्यक्रमबाट संकलित आम्दानीको केही हिस्सा मृतक परिवार र घाइतेहरूको उपचारमा सहयोग गर्ने घोषणा गरे। पत्रकार सम्मेलनमा भारतीय, बंगलादेशी मिडिया प्रतिनिधि तथा समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस