
दोहा । नेपालीहरुका आसन्न महत्वपूर्ण पर्वहरुलाई लक्षित गरी कतारको एसियन टाउनमा गत शुक्रबार आयोजित “नेपाली स्टार नाइट्स २०२५” भव्य भनिएको कार्यक्रम विवाद, असफलता र बदनामीमा परिणत भयो।
व्यवस्थापनको कमजोरी र अव्यवस्थाले मात्र होइन, कलाकारहरूको तयारी र जिम्मेवारीहीनताले पनि यस असफलतामा ठूलो भूमिका खेलेको देखियो।
नेपालबाट बोलाइएका कलाकारहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै प्रस्तुति दिन ढिलाइ गरे। तर, वास्तविकता के देखियो भने धेरै कलाकारहरूले कार्यक्रम, करार (Contract) र टर्म्स एन्ड कन्डिसन राम्ररी नबुझीकनै उधारो, हचुवाको भरमा आउनु दु:खद हो। आयोजक, कार्यक्रम र गन्तव्य देशको बारेमा अध्ययन नगरी हचुवाको भरमा जहाज चढ्नु उनीहरूको ठूलो कमजोरी सावित भयो। यसले गर्दा आफूलाई पाउनु पर्ने पारिश्रमिकबारे अन्योल बढ्नु मात्र होइन, उनीहरूको छविमा समेत नकारात्मक असर पर्यो।
टिकटकरहरुको भिआइपी पासको धन्दा:
कार्यक्रम सम्वन्धि प्रचारका दौरान केही टिकटकरहरुले भनेका थिए “मलाई फलो, लाइक तथा कमेन्ट गरी सित्तैमा भिआईपी पास जित्ने मौका पाउनुस्” त्यसैको परिणाम स्वरुप केही टिकटकरहरूले आफ्ना फ्यान र फलोअर्सलाई सित्तैमा भिआइपी पास वितरण गरे भबे पैसा तिरेर आएका वास्तविक दर्शकहरू भने “हेरेको हेर्यै” भए। एकजना स्वयंसेवकले भने “भिआईपी सिटमा बस्नेहरु अधिकांश सित्तैको पासमा आएकाहरु थिए” यसले आयोजकप्रतिको आक्रोश झन् चुलिएको थियो। सामाजिक सञ्जालमा मात्र लोकप्रिय भएकालाई व्यावसायिक व्यवस्थापनमा जिम्मा दिनु आयोजकको ठुलो भूल देखियो।
वास्तविक आयोजक र सन्चालक को हुन् भन्ने नै प्रस्ट हुन नसकेको र असंगठित देखिँदा कार्यक्रम सुरु देखिनै कमजोर भयो। नेतृत्व र जिम्मेवारीको अभावले सम्पूर्ण कार्यक्रम अस्तव्यस्त पार्यो।
कतारजस्तो संवेदनशील देशमा अर्धनग्न नृत्य प्रस्तुत गरिनु, मादक पदार्थ सेवन गरि प्रस्तूती दिनु केवल गैरजिम्मेवार मात्र नभई सम्पूर्ण नेपाली समुदायलाई अपमानित बनाउने खालको घटना थियो। यसै कारण यहाँको प्रशासनले केही प्रस्तूतिमाथी हस्तक्षेप नै गर्नुपर्ने अवस्था आयो।
दर्शकहरूको असन्तोष:
लामो समयसम्म कार्यक्रम सुरु नभएको, करारअनुसार प्रस्तुतिहरू नदेखिनु, निर्धारित तालिका पालना नभएको कारण दर्शकहरू आक्रोशित हुन पुगे। विरोध, हुलहुज्जत र तोडफोडसम्मको स्थिति आउनु नै यसको चरम असफलताको प्रतीक हो।
यस घटनाले आयोजकलाई न केवल ठूलो आर्थिक घाटा बेहोर्नु परेको छ, नेपाली कलाकार र कला–संस्कृतिको प्रतिष्ठा र छविमा समेत गम्भीर धक्का लागेको छ। विदेशमा रहेका नेपाली समुदायबीच “नेपाली स्टार नाइट्स २०२५” सफल सांगीतिक कार्यक्रमको नभई अव्यवस्था, बदनामी र असफलताको उदाहरणका रूपमा चित्रित हुनु दुर्भाग्यपूर्ण हो।
यस्ता प्रकारका कार्यक्रमले स्पष्ट देखाएको छ कि विदेशमा हुने यस्ता कार्यक्रममा आयोजक मात्र होइन, कलाकारहरू पनि समान रूपमा जिम्मेवार हुनुपर्दछ।आयोजकले व्यवस्थापन, पारदर्शिता र समयपालनलाई प्राथमिकता दिनुपर्छ। कलाकारहरूले पनि कार्यक्रम, करार र शर्तहरू राम्ररी बुझी जिम्मेवारीपूर्वक कदम चाल्नु पर्दछ।
तसर्थ भविष्यमा यस्ता गल्तीहरूबाट सिके मात्र नेपाली कला–संस्कृतिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो इज्जत जोगाउन सकिन्छ कि!