२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

दोहामा पर्वत जलजला समाज कतारको दोस्रो वार्षिकोत्सव सम्पन्न

दोहा । पर्वत जलजला समाज कतारले आफ्नो दोस्रो वार्षिकोत्सव तथा विजया दशमी–दीपावली विशेष शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

 

कार्यक्रम समाजका अध्यक्ष देवराज कार्कीको सभापतित्व र  युके बसोबास गर्दै आएका  समाजसेवी दधिराम आचार्यको प्रमुख आतिथ्यतामा सनैयास्थित फुलबारी रेष्टुरेन्टमा सम्पन्न भएको हो।

शुक्रबार दिउँसो दीप प्रज्वलन, व्यानर अनावरण, राष्ट्रिय गान र केक काट्दै कार्यक्रम सुरु गरिएको थियो। स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर खत्रीले दिएका थिए भने कलाकार सृष्टि श्रेष्ठ (सिम्रन) ले कुमारी नृत्य प्रस्तुत गरेर अतिथिहरूलाई स्वागत गरिन । समाजका सचिव बाबुराम नेपालीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएकी लोकप्रिय गायिका जुनु प्रसाईं, युकेबाट आएका पर्वते राजा आर.सी पौडेल, साथै कतारमै सक्रिय कलाकार रेश्मी सेन्चुरी, तारा बीसी, दीपा खाती, रोजिना गुरुङ र सोम परियार का प्रस्तुतीले हललाई उत्साहमय बनाएका थिए।

गायिका प्रसाईंले मेरो भ्वाइस युनिभर्स सिजन २ को अनुभव सुनाउँदै आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शक झुमेका थिए भने गायक पौडेलले वैदेशिक यात्राको रमाइला प्रसङ्गसहित नेपाली–अङ्ग्रेजी मिश्रित गीत प्रस्तुत गर्दा हल हाँसो र उत्साहले गुञ्जिएको थियो।

 

प्रमुख अतिथि आचार्यलाई दोसल्ला, मायाको चिनो र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सम्बोधनका क्रममा उनले समाजले गरिरहेका सामाजिक कार्यको प्रशंसा गर्दै सेवाको भावनाले समाज र समुदायलाई थप लाभ हुने बताए। साथै यस्ता संस्थामा राजनीति नगरी नितान्त सामाजिक सेवाको भावनाले अघि बढ्नुपर्नेमा जोड दिए।

 

अन्त्यमा सभापति कार्कीले पर्वत जलजला समाज कतार, विशुद्ध सामाजिक  संस्था भएको प्रष्ट पार्दै, कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउने सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ–संस्था सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, कलाकार र दोहाबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरुले शुभकामना मन्तव्य दिंदै समाज  एकतामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा भाग्यशाली चिट्टा योजनाको पुरस्कार सार्वजनिक गरिएको थियो।

 

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस